दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टीको कमल गाउँपालिका नेतृत्वले कमल गाउँपालिकालाई दमकमा समावेश गरेर उपमहानगरपालिका बनाउन दमकबाट गरिएको सिफारिसप्रति असहमति जनाएको छ ।


पार्टीका गाउँ समिति अध्यक्ष दिपक खरेलले आज (शनिबार) बसेको पालिकास्तरीय बैठकपछि सार्वजनिक गरेको प्रेस विज्ञप्तीमा कमल गाउँपालिकालाई समेत समावेश गरेर दमक नगरपालिकाको निर्णयानुसार उपमहानगर बनाउने भन्ने सनसनीपूर्ण चर्चाप्रति दुख व्यक्त गर्दै सबै पार्टीहरुको परामर्श बिना समानता र सहअस्तित्वको भावनालाई कुठाराघात गरि एकलौटी र मनोमानी ढंगले गरिएको एकल निर्णयप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको पनि उल्लेख छ । विज्ञप्तीमा विगतमा दमक नगरपालिकालाई उपमहानगरपालिकामा रुपान्तरण गरी लैजान कमल गाउँपालिकालाई पनि समावेश गरेर जानुपर्छ भन्दा वेवास्ता समेत गरिएकोले हालको निर्णय प्रति राप्रपा कमलको आपत्ति र असहमति रहेको पनि जनाउ दिइएको छ । पार्टीका झापा क्षेत्र नं ५ का अध्यक्ष भिमप्रसाद पौडेलको उपस्थितीमा बसेको सो बैठकले पार्टीको आगामी प्रदेश अधिवेशन र कार्तिक २७ देखि २९ सम्म हुने केन्द्रिय महाधिवेशन लक्षित विभिन्न सांगठनिक निर्णयहरु पनि गरेको अध्यक्ष खरेलले जनाएका छन । सो पार्टीले भदौ २० गते भित्र सबै वडा वडामा पार्टीको सक्रिय सदस्यता वितरण गरेर संगठनलाई चलायमान बनाउने, सबै वडामा पार्टीका वडा कार्यालयहरु स्थापना गरिसक्ने लगायतका पनि निर्णयहरु गरेको जनाइएको छ ।

 

Facebook Comments Box