दमक/ प्रदेश एक अन्तर्गत झापा र सुनसरीमा भएका अलग अलग घटनामा आज ( बुधबार) दुई जनाको मृत्यु भएको छ । झापा गौरीगञ्ज गाउँपालिका ६ खजुरगाछीका ६५ बर्षीय गंगा सुन्दासको खोला तर्ने क्रममा डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार आज बिहान ८ बजे गेउरीया खोला तर्ने क्रममा उनको मृत्यु भएको हो । त्यसैगरी धरान उपमहानगरपालिका ८ तिनकुने जंगल स्थित कोशी राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ईटहरी उपमहानगरपालिका १७ पकलीकी ४० बर्षीया मिरा देवी साह रहेकी छन् । आज बिहान साढे ९ बजे धरानबाट ईटहरी तर्फ आउदै गरेको को १ त ९१४३ नम्बरको ट्याक्टरलाई पछाडीबाट आईरहेको को१ख ५४३० नम्बरको बसले पछाडीबाट ठक्कर दिई बिपरित दिशाबाट जादै गरेको प्रदेश–१ –०२–०४०प ६४०५ नम्बरको मोटरसाईकल समेतलाई ठक्कर दिदा सो दुर्घटना भएको हो । सो दुर्घटनाबाट मोटरसाईकल चालक मृतककै छोरा २५ बर्षीय बिमल साहकी आमा मिरादेवीको मृत्यु भएको हो । बिमलको सोही अस्पतालमानै उपचार भईरहेको छ । दुर्घटनामा संलग्न तिनवटै सवारी साधन र बस चालक धरान १५ का ४२ बर्षीय प्रभु खड्कालाई ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।