दमक/झापामा कोरोना संक्रमण उच्च भएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार राती १२ बजेदेखि लागू हुने गरि निषेधाज्ञा जारी गरेको छ । जिल्लाका १५ मध्ये १० पालिकाहरुले जारी गरेको निषेधाज्ञाका बीच प्रशासनले लगाएको निषेधाज्ञाले सर्वसाधारणमा भने अन्यौल छाएको छ । निषेधाज्ञाको समयमा पनि मानिसहरुको हिंडडुल र चहलपहलमा खासै कमि आउन सकेको छैन ।
पालिकाहरु र प्रशासनबीच निषेधाज्ञा जारी गर्नेमा होडबाजी जस्तै देखिएको छ । यस अघि प्रशासनले लगाएको निषेधाज्ञा खुकुलो भएका कारण संक्रमण फैलिएको भन्दै जिल्लाका दमक, कमल, शिवसताक्षी लगायत १० पालिकाले आआफनै निर्णय अनुसार निषेधाज्ञा लगाएका थिए । पालिकाहरुको निषेधाधा नसकिँदै जिल्लास्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा त लगाएको छ तर त्यो निषेधाज्ञा व्यापारलाई मात्रै लक्षित गरेर लगाएको देखिन्छ ।
व्यवसायीहरुले पसल बन्द गरेका छन तर खाद्यान्न बोकेको गाडी लेखेर खाद्यान्न ढुवानी गर्ने क्रम भने रोकिएको छैन । दमक बजारमा खाद्यान्न बोकेका गाडी हुन वा अस्पताल, मरि मराउ स्थल आदिमा जाने बहानामा दुई पाङग्रे र चार पाङग्रे सवारी चलिरहेकै छन । कतिपय निर्माण सामग्री बोकेको ट्रयाक्टर टिपर राजमार्गबाट भित्री सडकहरुमा पनि गुडेका देखिन्छन । मानिसहरुको आवतवावत नरोकिए सम्म व्यापार/पसल बन्द गरेर मात्रै कोरोना रोकथाम नहुने व्यवसायीहरुको धारणा छ । प्रशासनले भने अत्यावश्यक काम बाहेक घरबाट बाहिर निस्किन रोक लगाएको छ । त्यस्तै अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी र सार्वजनिक कार्यालय बाहेक अन्य कार्यालयहरू समेत सञ्चालन नगर्न निर्देशन दिइएको छ । खाद्यान्न लगायतका सबै पसलहरू बन्द गर्न प्रशासनले सुचित गरिसकेको छ । बैङ्क तथा वित्तीय संस्थामा माथिल्लो निकायबाट स्वकृति लिएर न्यून कर्मचारी राखेर हप्तामा तीन दिन आलोपालो प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
अत्यावश्यक सवारी साधन बाहेक अन्य निजी तथा सार्वजनिक सवारी साधनलाई पूर्ण रोक लगाइएको प्रशासनको भनाई छ । तर, पूर्वपश्चिम राजमार्गमा चल्ने लामो तथा मध्यम दुरीका सार्वजनिक सवारीलाई भने सञ्चालन गर्न पाउने छन ।