दमक/ प्रदेश एकमा गत एक बर्षमा विभिन्न किसिमका अपराधमा ७ हजार ३८४ मुद्धा दर्ता भएका छन । गत श्रावणदेखि असार मसान्त सम्ममा ७ हजार ३ सय ८४ मुद्धा दर्ता तथा ४० करोड भन्दा बढी राजश्व संकलन भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकासी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भए अनुसार प्रहरीले सो सफलता पाउन सकेको प्रहरीको दाबी छ ।
त्यसैगरी सोही अवधिमा बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका ७४३ जना फरार प्रतिवादी पक्राउ गरि ७३५ बर्ष कैद भुक्तान भएको छ । त्यस्तै ४ करोड ४३ लाख ५८ हजार ९ सय २७ रुपैया राजश्व संकलन भएको छ । यसैगरी लागुऔषध नियन्त्रण तर्फ ३५१६ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको छ भने १७८९.१११ केजी गाजा बरामद भएको छ ।
यसैगरी बिभिन्न मनोद्धिपक क्याप्सुल ५० हजार २५५ ट्याब्लेट बरामद भएको तथा मनोद्धिपक सुई १० हजार ३५८ एम्पुल बरामद भएको छ । अन्य बिभिन्न किसिमका मनोद्धिपक औषधीहरु २ हजार ४ सय ८३ ट्याब्लेट बरामद भएको छ । यसैगरी भन्सार चोरी निकाशी तर्फ अबैध रुपमा समान चोरी निकासी गर्ने १९० जना मानिस पक्राउ गर्नुका साथै १९ करोड ०१ लाख ५८ हजार २१२ रुपैया राजश्व संकलन भएको छ । यस्तै नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने १७० जना मानिस र ७८५ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ६५ लाख ७५ हजार ३०० राजश्व संकलन भएको छ । यसैगरी अबैध काठ चोरी निकासी गर्ने ७० जना मानिस पक्राउ गर्नुका साथै ३२६१ क्यू.फिट. काठ बरामद गरी ७० लाख ३८ हजार ७८७ रुपैया राजश्व संकलन भएको छ । यसैगरी ट्राफिक ब्यबस्थापन तर्फ ट्राफिक नियम उलंघन गर्ने २ लाख ५४ हजार ३९४ वटा सवारी साधनलाई कारवाही गर्दा १५ करोड ९७ लाख ११ हजार राजश्व संकलन भएको छ ।