पाँचथर/पाँचथरको फिदिम नगरपालिका–४ कुमाले टोलका एक जना ७९ बर्षिय बृद्धको आफनै संधियार ५९ बर्षका जीवनारायण श्रेष्ठले  हत्या गरेको खुलेको छ । अनुसन्धानका क्रममा फिदिम नगरपालिका–२ पल्लोटारमा ५९ वर्षीय जीवनारायण श्रेष्ठले  धानको ब्याडमा पानी लगाउने विषयमा झगडामा सोही ठाउँका ७९ बर्षिय टेकबहहादुर इङवाको हत्या गरेको खुलेको हो । सो घटनामा संलग्नलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।
इङ्वाको हत्या भएको दिन गत जेठ २९ गते दिउँसो समेत इङ्वा र श्रेष्ठबीच धानको ब्याड राख्न पानी लगाउने विषयमा झगडा भएको थियो । आवेशमा आई श्रेष्ठले इङ्वाको घरमै गई धारिलो हतियारले अनुहार तथा फलामको पाइपले टाउकोमा प्रहार गरेर छोडेर हिँडेको पाइएको प्रहरीले जनाएको छ ।
इङ्वाको घरमा उनी र उनकी ८४ वर्षीय पक्षघात पीडित श्रीमती मात्रै बस्दै आएका थिए । अनुसन्धानकै क्रममा हत्याको घटनामा श्रेष्ठले लगाएका कपडा, हत्यामा प्रयोग भएको बामफोक र पाइप फेला परेपछि श्रेष्ठले घटना गराएको निष्कर्षमा पुगेर प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो ।
हत्यामा संलग्न श्रेष्ठ सडक विभाग अन्तर्गतको यान्त्रिक कार्यालय फिदिममा सुरक्षा गार्डका रुपमा समेत काम गर्दै आएको प्रहरीले जनाएको छ । जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान तथा कानूनी प्रक्रिया अगाडी बढाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Facebook Comments Box