दमक/दमकस्थित आम्दा अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको आज ( मंगलबार) उपचारका क्रममा मृत्यु भएको छ । दमक ३ की ५१ बर्षिया ति महिलाको उपचारकै क्रममा मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले पुष्टि गरेको छ । उनको बसोबास कमल गाउँपालिका र दमक दुवै तर्फ रहेको भएपनि अस्पतालमा उपलब्ध विवरणमा उनको ठेगाना दमक ३ उल्लेख रहेको बताइएको छ ।
यसैबीच दमकमा आज ( मंगलबार) ६ बर्षिय एक बालकसहित कूल ५८ जनामा कोरोना संक्रमण देखिएको छ । दमक अस्पताल मातहतको कोभिड उपचार केन्द्रमा सोमबार ( स्वाव) संकलन गरिएका कूल १३१ जना मध्ये एक बालकसहित ५३ जनामा संक्रमण पुष्टि भएको हो । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार उनीहरुको स्वाव परिक्षणका लागि धरानस्थित वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । स्वास्थ्य शाखाका कुबेर भट्टराईले ४० प्रतिशत भन्दा धेरैमा संक्रमण पुष्टि भएको बताउँदै यसले दमकमा कोरोनाको जोखिम कम हुन नसकेको पुष्टि गरेको बताए । त्यसैगरी आज मंगलबारनै दमक अस्पतालमा गरिएको एन्टिजेन परिक्षणका क्रममा ५ जनामा संक्रमण पुष्टि भएको छ । कूल २२ जनामा गरिएको परिक्षणका क्रममा ५ जनामा संक्रमण देखिएको हो । त्यसैगरी लाइफलाइन अस्पताल दमकमा एक जनामा संक्रमण देखिएको जनाइएको छ । दमकमा चिकित्सकहरुले सिफारिस गरेका तथा लक्षण चिन्ह देखिएकाहरुको पीसिआर तथा एन्टिजेन परिक्षण निशुल्क गरिँदै आएको जनाइएको छ ।