दमक/ ईटहरी उपमहानगरपालिका २० तरहराको चौतारी चौकमा करेन्ट लागेर एकै परिवारका पति पत्नीको मृत्यु भएको छ । करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा उदयपुर रौतामाई घर भई सोही ठाउँमा बस्दै आएका २६ बर्षीय हेमसेर राई र श्रीमती २३ बर्षीया सर्मिला राईको मृत्यु भएको हो ।
आज बिहान ६ बजे स्थानीयले घर नजिकै खार्सल खोलामा उनीहरुलाई मृत अबस्थामा फेला पारेका थिए । ईलाका प्रहरी कार्यालय ईटहरी र प्रहरी चौकी तरहराबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा उनीहरुले आफु बसेको घरबाट बिजुलीको लाईन जोडेर खोलामा लगेको भेटिएको थियो । उनीहरुले राती खोलामा माछा मार्न खोज्दा करेन्ट लागेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । कोठामा उनीहरुको ४ बर्षीया छोरी मात्र रहेकोले बिहान मात्र घटनाको बारेमा जानकारी पाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय इटहरीले जनाएको छ ।