झापामा शव व्यवस्थापनका लागि स्काउटरलाई प्रशिक्षित गरिँदै

Author Nishkarsha News
२०७८ जेष्ठ ९, आईतवार २१:०५

दमक/ मृतक कोरोना संक्रमितको शव व्यवस्थापनमा नेपाली सेनालाई सघाउन स्काउटरलाई शव व्यवस्थापन सम्बन्धिको तालिम सञ्चालन गरिएको छ । देशभर अहिले नेपाली सेनाको टोलीले मात्रै संक्रमित मृतकको शव व्यवस्थापन गर्दै दाहसंस्कार गर्ने गरिएकोमा झापामा सेनालाई यो कार्यमा सघाउन थप जनशक्तिको व्यवस्थापन गर्ने उद्धेश्यले स्काउटरहरुलाई आज आइतबारदेखि तालिम दिन शुरु गरिएको हो ।


सबै ठाउँमा मृतक संक्रमितको शव व्यवस्थापन गर्न सेनालाई मात्रै हम्मे हम्मे परिरहेको कारण स्वयंसेवाका क्षेत्रमा क्रियाशील स्काउटरहरुलाई प्रशिक्षण दिइएको हो– नेपाल स्काउटका १ नम्बर प्रदेश समिति सदस्य राम पौडेलले भने ।
उनका अनुसार १२ जेठ सम्म भद्रपुरमा सञ्चालन हुने सो तालिममा झापाका १७ जना स्काउटर सहभागी छन ।
नेपाल स्काउट प्रदेश नं १ को तदर्थ समितिले नेपाली सेनासंगको सहकार्यमा शव व्यवस्थापनको तालिम सञ्चालन गरिरहेको पौडेलले बताए ।
सो तालिमको उदघाटनमा नेपाल स्काउटका १ नं प्रदेश तदर्थ समितिका संयोजक रवि खानलको प्रमुख आतिथ्य रहेको थियो भने नेपाली सेना २१ नम्बर बाहिनी अड्डाका बाहिनी पति सहायक रथी विजय थापाको विशिष्ट आतिथ्य र श्री नयाँ श्रीनाथ गणका गणपति प्रमुख सेनानी अमर जङ्ग थापाको आतिथ्य रहेको थियो ।


कार्यक्रममा नेपाली सेनाका तर्फबाट प्रथम सेसनमा श्री नयाँ श्रीनाथ गणका गणपति श्री अमर जङ्ग थापाले सिसिएमसी , डिसिएमसी ,स्थानीय सरकार तथा विभिन्न सङ्घ संस्थाको भूमिका बारे प्रस्ट पार्दै प्रशिक्षार्थीहरू सँग सल्लाह , सुझाव लिदैं सहभागीहरुका जिज्ञासाको समाधान गरेका थिए ।
नेपाली सेनाको तर्फबाट प्रशिक्षक लेफ्टिनेन्ट डाक्टर समीर पुडासैनीले कोरोनाको बारेमा प्रस्ट पार्दै शव व्यवस्थापनमा ध्यान पुराउनु पर्ने प्राथमिक तथा गहन विषयहरूमा प्रकाश पारेका थिए । तालिम अवधि भर प्रशिक्षणमा रहेका प्रशिक्षार्थीलाई सीमित सुरक्षित स्थान मा विशेष अनुशासन पालनाका साथ राखिएको छ । तालिम उदघाटनमा नेपाल स्काउट १ नम्बर प्रदेश समिति सदस्य केसी श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए  भने अर्का सदस्य अरुण बस्नेतले  सञ्चालन गरेका थिए ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्