नविन बराल दमक ३ का निर्वाचित वडाध्यक्ष हुन् । बराल २०७४ जेठमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् । बुबा लेखनाथ र आमा शान्ता बरालको जेठो छोराका रूपमा २०३८ साल फागुन ५ गते जन्मिएका बरालले प्रारम्भिक शिक्षा हालको दमक ३ स्थित चुलाचुली आधारभुत विद्यालयबाट लिएर एसएलसी भने दमक ५ स्थित मेची सेकेण्ड्री बोर्डिङ स्कूलबाट २०५४ सालमा उत्तीर्ण गरेका हुन् ।
दमक बहुमुखी क्याम्पसमा अध्ययनकै सिलसिलामा विद्यार्थी संगठनमा कम्युनिष्ट राजनीतिमा आवद्ध भएर विभिन्न तहमा युवा संघ नेपाल र नेकपाको विभिन्न कमिटीमा जिम्मेवारी निर्वाह गर्दै आएका बराल दमक ५ मा तत्कालीन नेकपा एमालेको वडा कमिटी सचिवको जिम्मेवारीमा रहेकै बेला टोल विकास संस्था, झापा कन्काई माई टयाक्टर संघ लगायत अन्य सामाजिक संघ संस्थाहरूको पनि नेतृत्वमा रहे । प्रस्तुत छ वडाध्यक्ष बरालसँग निष्कर्ष न्यूज साप्ताहिकका लागि गरिएको कुराकानी अन्तर्गत जनप्रतिनिधिको निष्कर्ष ः

२ बर्ष भयो वडाध्यक्षको जिम्मेवारीमा आउनु भएको प्रतिबद्धता के थिए कतिसम्म पूरा भए ?

चुनावताका गरिएका प्रतिबद्धता सतप्रतिशत पूरा हुने समय त भइसकेको छैन । मैले आफैँ उम्मेद्वारको हैसियतबाट भन्दा पनि पार्टीले उम्मेद्वारहरूको एउटा साझा घोषणा पत्र बनाएको थियो । घोषणा पत्र कार्यान्वयनमा हामी निरन्तर छौँ । प्रतिशतका आधारमा भन्ने हो भने यो २ बर्षमा लगभग ३५ प्रतिशत प्रतिबद्धता पूरा गरेकाछौँ । पूर्वाधार निर्माण लगायतका कतिपय बिषयहरू निरन्तर चलिरहने कुरा पनि हुन् ।

आफ्नो कार्यकालमा वडाकै महत्वपूर्ण के काम गर्दै हुनुहुन्छ ?

वडाको मात्रै होइन समग्र दमक नगर र देशकै बृहत्तर विकासमा टेवा पुग्ने किसिमका योजनाहरू पनि छन् हाम्रो वडामा । मुख्यतया पर्यटनका हिसाबले यो वडालाई विकसित गर्ने हाम्रो योजना छ । हामी यही वडामा अग्लो बुद्ध मुर्ती, भ्यू टावर निर्माण जस्ता ठुला योजनाको कार्यान्वयनको चरणमा छौँ । त्यतिमात्रै होइन स्थानीयस्तरबाट र प्रदेश सरकारबाट गर्न सकिने पर्यटकीय पूर्वाधारहरू पनि बनाउने लक्ष्य लिएकाछौँ । यो वडालाई पर्यटकीय वडाका रूपमा परिचित गराउने हाम्रो योजना छ । त्यसका अतिरिक्त विभिन्न हिसाबले दमकका अन्य भागहरू साँघुरो बन्दै गएकाले नगरस्तरको एउटा खेलमैदान यही वडामा बनाउने सोच छ । विपन्नहरूका लागि विशेष सीपमुलक कार्यक्रम तथा योजनाहरू ल्याएर स्वरोजगारको अवसर सिर्जना गरी सबैलाई आत्मनिर्भर बनाउने पनि लक्ष्य हामीले लिएका छौँ । त्यसैगरी शिक्षाका क्षेत्रमा हामी केही ठोस योजनासहित सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार्न लाग्दैछौँ । मलाई लाग्छ शिक्षालाई गुणस्तरीय बनाउन सकियो भने धेरै कुराको समाधान त्यसैबाट हुनेछ । बाल शिक्षाबाट सोझै कक्षा १ मा होइन एलकेजी, यूकेजीको पठनपाठन पनि सामुदायिकमा नै गराउने हाम्रो सोच छ । त्यसका लागि वडा तथा नगरस्तरबाट स्वयम्सेवक शिक्षक परिचालन गरेर काम गर्न सकिन्छ । यहाँ ढुकुरपानी सिमसार क्षेत्र र हंसेदुम्से वन क्षेत्रभित्र पनि वन वाटिकासँगै सिमसार, संग्राहालय, जङ्गल सफारी तथा अन्य पर्यटन प्रवद्र्धनका योजनाहरू छन् ।

ठुला योजनाहरूको कार्यान्वयनमा यहाँ केही विवाद र ढिलसुस्तीका कुरा पनि आएका छन बुद्ध मुर्ती, भ्यू टावर लगायतका योजनामा ढुक्क हुने अवस्था त छैन नि ?

त्यस्तो होइन, बाहिरबाट सतही सोचमा गरिएको विश्लेषण वा टिकाटिप्पणीको अर्थ हुँदैन । भ्यू टावर निर्माणको टेण्डरनै लागिसक्यो । औपचारिक रूपमा निर्माणपक्षसँगको सम्झौता बाँकी छ । बुद्ध मुर्तीका लागि आवश्यक जग्गाको बन्दोबस्ती भईरहेको छ । वनका कारण यहाँ जग्गाको समस्या जो देखाइएको छ त्यस कुराको पनि समाधान सहज छ । बुद्धमूर्ती बनिँदैमा यहाँको वन फँडानी हुने होइन, यहाँको वन क्षेत्र थप व्यवस्थित बनाएर त्यहीँ भित्र पूर्वाधारहरूको विकास गर्ने कुरा हो । जुन हाम्रो मात्रै होइन समग्र देशको गौरवसँग गाँसिएको कुरा छ र यो हाम्रो मात्रै योजना होइन स्वयम् प्रधानमन्त्री ज्यूको अठोटको बिषय पनि हो । त्यसकारण यी योजना कार्यान्वयनमा कुनै शङ्का गर्नु पर्दैन ।

चालू आर्थिक बर्षको अन्त्यतिर आइपुगिएको छ योजना कार्यान्वयनका हिसाबले कस्तो प्रगति छ ?

हामीले चालू बर्षका लागि झण्डै दुई करोड अर्थात १ करोड ८५ लाखको सिलिङ बजेट भित्र रहेर बजेट बनाएका थियौँ । बजेट तथा कार्यक्रमहरूको कार्यान्वयन अहिले लगभग ८५ प्रतिशत पूरा भएको छ ।

वडामा यतिका समय विताइरहँदा यहाँको खास चुनौती चाहिँ के पाउनु भएको छ ?

म यसै भेगमा जन्मिएर हुकिएको यहीँको जनप्रतिनिधि हुँ । यस भेगमा केही पुराना समस्याहरू छन् । आज वडाको नेतृत्व गर्दै गर्दा ती समस्याहरूबाट हामी आफैँ पनि पूर्ण रूपमा मुक्त हुन सकेका छैनौँ । यहाँको खोलानदीहरूको कटान, उत्खननको समस्या, यहाँ जङ्गली हात्ती, खानेपानी, कृषिमा सिँचाईको समस्या कतिपय ठाउँमा अझैपनि छदैँछ । हामीले हाम्रो सामथ्र्य र क्षमताले भ्याएसम्म यी समस्याको समाधानका लागि हामीभन्दा माथिल्लोस्तरमै ध्यानाकर्षण गराइरहेका छौँ । मलाई लाग्छ छिट्टै हामी समस्याहरूको समाधानमा पुग्नेछौँ ।

Facebook Comments Box