दमक/ कोरोना संक्रमण रोक्ने उपाय स्वरुप झापामा यतिबेला जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएको छ । निषेधाज्ञाको कार्यान्वयन फितलो मात्रै छैन निषेधाज्ञाको समयमा गम्भिर प्रकृतिका दुर्घटना नै भएका छन । झापा जिल्ला भर हिजो बुधबार मात्रै चार ठाउँमा सवारी दुर्घटना भएका छन ।
दुई ठाउँमा भएका दुर्घटनामा दुई जनाको ज्यानै गएको छ भने दुई ठाउँमा मानिस गम्भिर घाईते भएका छन । मेचीनगर र कन्काईमा एक / एक जनाको दुर्घटनाकै कारण मृत्यु भएको तथा कमल र अर्जुनधारामा गम्भिर घाईते भएको विवरण १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । झापा बाहेक अन्य जिल्लामा हिजो ४ ठाउँमा दुघर्टना भएको विवरण ट्राफिक प्रहरीले उपलब्ध गराएको छ । मेचीनगर १० नागरडुब्बा पुल नजिक पुर्ब पश्चिम राजमार्गमा रोकि राखेको भारतीय सामान बोकेको भारतीय नम्बर प्लेट भएको लहरीको पछाडी मोटरसाइकल ठोक्किदा स्थानीय ३० बर्षिय युवक पुजाइहाङ लिम्बुको मृत्यु भएको हो । बा.६३प २७९० नम्बरको मोटरसाइकल लहरीको पछाडी पट्टी ठोक्किदा भएको सवारी दुर्घटनामा मेची नगरपालिका वडा नं १२ धाईजनका ३० बर्षिय लिम्वु गम्भिर घाईते भएका थिए । उनको उपचारको लागि बि.एण्ड.सी. अस्पताल बिर्तामोड पठाईएकोमा रातीनै उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।
त्यसैगरी कनकाई –३ बिद्युत प्राधिकरण अगाडी राजमार्गमा पश्चिमवाट पुर्व तर्फ जादै गरेको मे.१ क ४४३ नम्बरको ट्रकले बाटो क्रस गर्दै गरेको पैदलयात्री ७१ बर्षिया कमल माया कमिनीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
त्यसैगरी झापाको कमल –४ एकता चोकस्थित पुर्व पश्चिम लोकमार्गमा पश्चिमवाट पुर्व तर्फ जादै गरेको को.१ क २६२५ नम्बरको ट्रक आफैं अनियन्त्रित भई दुर्घटना हुँदा धरान ५ का ४४ बर्षिय छत्र बहादुर तामाङ गम्भिर घाईते भएका छन । उनको
न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । त्यस्तै अर्जुनधारा न.पा. १० स्थित उतर दक्षिण भित्री सडक खण्डमा उत्तरवाट दक्षिण तर्फ जादै गरेको प्र.१–०१–००१त.९०१८ नम्बरको ट्याक्टरको पछाडी सवार ट्याक्टरको सहचालक मेचीनगर न.पा. १२ का १७ बर्षिय दिप्सन कटुवाल अचानक लडेर गम्भिर घाइते भएका छन ।