दमक/ झापाको शिवसताक्षी नगरपालिका वडा नं ९ का मेदनी दंगालको दैनिकीअहिले कृषि कर्ममै वित्छ । बाबु बाजेका पालादेखिनै कृषि कर्ममा रहेका दंगाल लामो समय वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगे ।

जिवनको आफनो उर्जावान अमुल्य समय उनले नेपाल बाहिर एशियाका धेरै मुलुकहरुमा विताए । एक बर्ष अघि कोरोनाका कारण विश्वनै थलिएको बेला उनलाई एकाएक व्यवसायिक कृषि फार्म सञ्चालन गर्ने सोच पलायो । सोही नगरपालिकाको ७ नम्बर वडामा आफनै स्वामित्वमा रहेको २ विगाहा र लिजमा थप एक विगाहा जग्गा लिएर उनले यतिबेला त्यहाँ आदर्श कृषि फार्म स्थापना गरेका छन । विदेशमा गरेको मेहेनतलाई सम्झिएर उनी अहिले कृषि फार्ममा आफू मात्रै लागेका छैनन अन्य ६/७ जना स्थानीयलाई रोजगारी दिइरहेका छन । कूल विगाहा क्षेत्रफलमा विस्तार गर्ने योजनासहित शुरु गरिएको यो कृषि फार्म भित्र अहिले धमाधम संरचना निर्माणको काम भइरहेको छ । स्थायी संरचना बनाउँदै उनले व्यवसायिक कृषि कर्म भने शुरु नै गरिसकेका छन । उनको फार्ममा पशु पंक्षीदेखि नगदेबालीको खेती गर्ने सम्मको योजना छ ।

आदर्श कृषि फार्ममा दंगालले अहिले एक सयको हाराहारीमा टर्की, त्यत्तिकै संख्यामा बट्टाई, हाँस, स्थानीय जातका कुखुरा, केही पाडा र स्थानीय तर केही उन्नत जातका माउ बाख्राको पालन शुरु गरिसकेका छन । उनले नगदेबालीका रुपमा सुपारी र एबोकार्डको खेती गर्न विरुवा ल्याइसकेका छन ।
मौसम प्रतिकुल भएकाले यि बिरुवा रोप्न पाएको छैन, अब एक÷दुई दिनमै सुपारीका विरुवा रोपिन्छ – दंगालले फार्ममा ल्याइएका सुपारीका विरुवा देखाउँदै भने । उनले त्यहाँ व्यवसायिक कृषिका लागि अपनाउनु पर्ने सबै उपायहरु अपनाउने तयारी गरेका छन । अहिले सम्म एक करोड भन्दा बढी खर्च भइसक्यो , यो भनेको यहाँ चाहिने लगानीको १० प्रतिशत जति मात्रै हो, थप लगानीसंगै यहाँ रेष्टुरेँन्ट पनि बन्छ । यो फार्मलाई कृषि पर्यटनको गन्तव्यका रुपमा बिकास गर्न सके विदेशमा मात्रै होइन स्वदेशमै युवाले आफनो योगदान दिन सम्भव हुन्छ भन्ने उदाहरण बन्न सक्छ आदर्श कृषि फार्म ।
