गौरीगञ्ज / बिहिबार राती गौरादह ४ माआदिवासी समुदायकी एक महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । यकिन उमेर थाहा हुन नसकेकी ति महिलामा केही दिन अघिदेखिनै संक्रमण देखिएको थियो ।
गौरादहको मुख्य चोकबाट भित्री बस्तीमा बसोबास गर्ने ति महिलाको उपचारका लागि दमकस्थित एडभान्स अस्पतालमा ल्याउनासाथ मृत्यु भएको हो ।
उनलाई राती १० बजेपछि अस्पताल ल्याउने वित्तिकै एक्सरेको माध्यमबाट छातीको अवस्था जाँच गरिएको थियो । एक्सरेमा विरामीको अवस्था अन्तिम हुँदै गएको प्रष्ट हुने किसिमको थियो , विरामी बेडमा पुरयाउनासाथ उनको मृत्यु भयो – अस्पातल स्रोतले भन्यो । त्यसको १२ घण्टा नबित्दै शुक्रबार बिहान दमक ३ की एक जना कोरोना संक्रमित सुत्केरीको विराटनगरमा मृत्यु भयो । आठ दिनकी सुत्केरी ति ३३ बर्षिया महिलाको शुक्रबार बिहान कोशी कोभिड अस्पताल विराटनगरमा मृत्यु भएको जानकारी प्राप्त भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
यससंगै दमकमा दोश्रो चरणको कोरोना संक्रमित मृतकको संख्या ६ पुगेको छ । यस अघि बिहिबार दमक २ का ५२ बर्षिय एक पुरुषको संक्रमणका कारण मृत्यु भएको थियो ।
यतिबेला कोरोना भाईरसको संक्रमण बढिरहेको अवस्थामा नागरिकलाई सुरक्षित राख्न प्रत्येक स्थानिय तहहरूले आवश्यक बजेटसहित स्वास्थ्योपचारको बन्दोबस्ती मिलाउनु पर्ने पहिलो दायित्व हो तर अधिकांश पालिकाहरु यो मामिलामा कमजोर देखिएका छन । झापाको दक्षिण पश्चिम क्षेत्रमा रहेको गौरादह नगरपालिका, कमल र गौरीगञ्ज गाउँपालिकामा कोरोना संक्रमितको संख्या दिनानुदिन बढेको बढयै छ तर यि पालिकाहरुमा पूर्व तयारी निक्कै कमजोर पाइन्छ ।
भरपर्दो क्वारेन्टाइन, आइसोलेसन वा विदेशबाट फर्किएकाहरुका लागि होल्डिङ सेन्टर निर्माणमा यि स्थानीय तहले राम्रो तयारी गरेको पाइँदैन ।
गौरीगञ्ज खजुरगाछीको प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनको मुल गेटमा फोहोरको डुङ्गुर छ । मुलगेट भित्र यत्रतत्र प्लास्टिकका भाडाकुडाहरू , सिमेन्टका बोराहरू छरपस्ट छन् भने कोठाका वेडहरू फोहोरै फोहोर छन् । क्वारेन्टाइन भनिएको उत्त भवनमा विजुली वत्ती पनि जडान गरिएको छैन । भवनको ट्वाइलेट – बाथरूममा त पसिनसक्नु छ । अस्पतालको मुल गेटमा ताल्चा लगाईएको छ भने बाहिरी परिसरमा पनि फोहोर छ ।
गौरीगञ्ज गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा २२ लाख रूपैयाँ रहेको बुझिएको छ । तर हालसम्म क्वारेन्टाइन , आईसोलेसन र एम्बुलेन्सको पुर्व तयारी नहुदाँ गाउँपालिकाले चरम लापरवाही गरेको स्थानीयहरू बताउँछन् ।
गौरीगञ्ज गाउँपालिकाको भारतीय सीमासंग करिब ३० किलोमिटर खुल्ला क्षेत्र जोडिएको छ । ठाउँ– ठाउँमा सशस्त्र प्रहरीको अस्थायी पोष्ट निर्माण गरिएपनि सीमामा आवतजावत हुनसक्ने प्रवल सम्भावना छ । गौरीगंजमा झण्डै ४० जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । उनीहरू सवै होम आईसोलेसनमा बसेर उपचार गरिरहेका छन् ।
गौरीगंज गाउँपालिकाको सीसीएमीसीको वैशाख १९ गते बसेको बैठकले क्वारेन्टाइनलगायत एम्बुलेन्सको व्यवस्थापन गर्ने भनी निर्णय गरेको थियो । तर अहिलेसम्म एम्बुलेन्सको समेत बन्दोबस्ती छैन ।
गौरीगञ्ज गाउँपालिका वडा नं. १ स्थित साना किसान कृषि सहकारी संस्थाको एम्बुलेन्स पनि विग्रिएर थन्किएको छ । कोही कसैलाई कोरोना संक्रमण भएको पुष्टि भईहाले भने विरामीलाई अस्पतालसम्म लान गौरीगंजमा एम्बुलेन्स पाईने अवस्था छैन ।
गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले क्वारेन्टाइन तयारी अवस्थामा राखेको जिकिर गरे । सरसफाई गराईराखेको अवस्था छ । विजुलीको जडान भईहाल्छ । सम्पुर्ण तयारी २/३ दिनमा पूरा हुन्छ ।’
‘ भारतीय सीमासंग जोडिएको गाउँपालिका भएको र संक्रमितको संख्या दिनानुदिन बढ्दै गईरहेको अवस्थामा गाउँपालिकाका चुप लागेर बसेको छैन – अध्यक्ष श्रेष्ठले भने । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले क्वारेन्टाइन , आईसोलेसन वेड , अक्सिजन र अन्य आवश्यक औषधिहरूको व्यवस्थापनमा लागिरहेको बताए । क्वारेन्टाइन भवनमा विजुली पानी, वेड व्यवस्थापन र सरसफाईको काम भईरहेको उनले बताए ।