विर्तामोड/झापाको बिर्तामोडमा जारी दोस्रो लायन्स क्लब जिल्ला स्तरीय खुल्ला व्याडमिटन प्रतियोगिताको फाईनलमा पुरुष तर्फ नवीन सिलवाल र चाणक्य पाठक बिर्तामोडको जोडी र प्रनिशसिंह ठकुरी तथा दिपक घिमिरे काँकरभिट्टाको जोडी भिडने भएका छन ।

नवीन र चाणक्यको जोडीले २१–८ र २१–१२ को सोझो सेटमा विशन राई, अनुप अधिकारी दमकको जोडीलाई हराउदै फाईनलमा प्रवेश गरेको हो ।
यसैगरी प्रनिश र दिपकको जोडीले सुदेन राई, प्रकाश राई दमकको जोडीलाई २१–८ र २१–१७ को सोजो सेटमा हराउदै फाईनलको यात्रा तय गरेको हो ।
यस्तै ४५ बर्ष माथिको समुह तर्फ सञ्जय भक्तराज, गणेश कार्की विर्तामोडको जोडीसंग श्रीप्रसाद धिमाल, विष्णु तामाङ्ग काँकरभिट्टाको जोडीले प्रतिस्पर्धा गर्नेछ ।
आज सोमबार भएको सेमीफाईनलमा सञ्जय भक्तराज, गणेश कार्कीको जोडीले सूर्य अधिकारी, कुलदिप चौधरी चन्द्रगढीको जोडीलाई २१–७, १४–२१ र २१–१२ को सेटमा हराउदै फाईनल प्रवेश गरेको हो ।
यसै गरी श्रीप्रसाद धिमाल, विष्णु तामाङ्ग काँकरभिट्टाले नगेन्द्र गहतराज र गंगा फेदापे विर्तामोडलाई २१–१६ र २२–२० को सोजो सेटमा हराउदै फाईनल यात्रा तय गरेको हो ।
लायन्स क्लव अफ अनारमनीको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित ‘झापा जिल्ला स्तरीय दोस्रो लायन्स खुल्ला व्याडमिटन प्रतियोगिता’ हिजो आइतबारबाट शुरु भएको हो ।