समाचार टिप्पणी
दमक/ पछिल्लो एक हप्ताका बीचमा झापाका दुई बिद्यालयका शिक्षक र बिद्यार्थीसंग सम्बन्धित एकदमै अप्रिय घटना बाहिर आए ।
कमल ३ स्थित शहिद धर्मभक्त माविमा कक्षाकोठा भित्रै बालिकाहरुमाथि नजानिदो शैलीमा गर्ने गरेको दुव्र्यवहारको घटना बाहिरियो भने कन्काईस्थित चम्पापुरमा एक जना शिक्षकले कक्षा ४ मा पढने बिद्यार्थीमाथि गरेको कुटपिटको घटनामा बालकको मृत्यु । बिना आग्रह पूर्वाग्रह सबैले आत्मसाथ गर्ने हो भने यी दुवै घटना क्रुर प्रकृतिका हुन ।
बिद्यालय यसै पनि बालबालिकाका लागि घर पछिको दोश्रो घर मानिन्छ । तर बिद्यालयमा शिक्षा दिने भनिएका शिक्षकहरुबाटै यस किसिमका कुकृत्य हुनु अपाच्य हो । यस्ता घटना हुनु त्यसैपनि निन्दनिय त हुन नै तर घटनालाई तोडमोड गरेर यो वा त्यो बहानामा घटनालाई ढाकछोप गरिनु वा गर्न खोजिनु झनै निन्दनिय हुन्छ । त्यस्ता घटनाका दोषीमाथि कारवाही गर्न नसक्नु अपराध नियन्त्रणमा सम्बन्धित निकाय असफल सावित हुनु पनि हो ।
शान्ति सुरक्षाका दृष्टिकोणबाट हेर्दा घर आँगनदेखि बिद्यालयको कक्षा कोठा भित्र समेत बालबालिकाहरु असुरक्षित देखिएका छन । प्रदेश एकका झापा, मोरङ जस्ता भारतसंग खुल्ला सीमा जोडिएका जिल्लाहरुमा भारतीयहरु निर्वाध नेपाल प्रवेश गरी सीमा नाकाहरुमा प्रतिबन्धित सामानको ओसारपसार गर्नेदेखि बालिका बलात्कारका घटना समेत गराएर फरार भएका छन ।
गएको साता मात्रै त्यस्तो जघन्य अपराधको घटना मोरङको जहदामा भएको छ भने झापाको सीमावर्ती गौरीगञ्ज क्षेत्रमा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा भारतीयहरु रातारात प्रतिबन्धित सूर्तीको ओसारपसारमा लागेको निष्कर्ष न्यूजले फेला पारेको छ ।
सामुहिक बलात्कार गरेर फरार
मोरङको जहदा गाँउपालिका– १ मा १४ वर्षीया एक बालिका दुई जना अज्ञात व्यक्तिबाट सामुहिक बलात्कारको शिकार भएकी छिन । रातको समयमा शौच गर्न घरबाट बाहिर निस्किएका बेला उनीमाथि तत्काल पहिचान नखुलेका दुई जनाले बलात्कार गरेर फरार भएका हुन ।
गत सोमबार राती करिब साढे ९ बजे अपहरण गरेर मोटरसाइकलमा राख्दै घरदेखि लगभग डेढ किलोमिटर पर लगेर बलात्कार गरेको खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए । घरमा शौचालय नभएपछि राति उनी शौच गर्न घरनजिक रहेको सडकको नालीमा पुगेकी थिइन् । त्यही बेला मोटरसाइकलमा आएका दुई युवकले जबरजस्ती उठाएर लगेको र डेढ किलोमिटर परको बारीमा बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ । बालिकाले प्रतिकार गर्न खोज्दा मुख थुनेर लगेको पाइएको डीएसपी थापाको भनाइ छ ।
जब भारतीय तस्कर मोटरसाइकलमा पछारिए
छिमेकी जिल्लामा भएको सो घटनाकै भएकै राती भारतसंग सीमा जोडिएको झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ स्थित बोर्डर जाने सडकको मध्यभाग (सशस्त्र प्रहरीको कुञ्जीबारी बोर्डर आउट पोष्ट र कुञ्जीबारी प्रहरी चौकीको बीच) मा एक जना भारतीय तस्कर मदिराले लठ्ठ भएको अवस्थामा प्रतिबन्धित सूर्ती बोकेको मोटरसाइकल सहित पछारिए ।
बीआर अल्फाबेट उल्लेख भएको ९९२४ नम्बरको मोटरसाइकलको पछाडी एउटा बोरामा सूर्ती र अर्को बोरामा कपडा बोकेर ल्याउँदै गरेको अवस्थामा सडक किनारमा खगेश नाम गरेका भारतीयमुलका तस्कर पछारिएपनि तत्कालै उनका सहयोगीहरुले उद्धार गरेर ति सामान सुरक्षित स्थान तर्फ लैजान सफल भए । सुरक्षा निकायको उपस्थिती घटनास्थलमा हुन सकेन । स्थानीयहरुका अनुसार भारतीयहरु खुलेआम त्यस किसिमको प्रतिबन्धित सूर्ती तथा सूर्तीजन्य बस्तुको ओसारपसारमा संलग्न भएपनि सुरक्षा निकायले अदेख गर्ने गरेको छ ।
अस्पताल परिसरमै मोटरसाइकल चोर्ने समातिए
धरानस्थित बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान परिसरबाट मोटरसाइकल चोरी गर्ने दुई जना रंगेहात पक्राउ परेका छन ।
प्रतिष्ठान हाता भित्र पार्किङ गरि राखिएको मोटरसाईकल चोरी गर्ने दुई जनालाई प्रहरीले रङगेहात पक्राउ गरेको छ । अस्पताल एरियामा पार्किङ गरि राखिएको को ३५ प १२८९ नम्बरको मोटरसाईकल चोरी गरेर लैजादै गरेका राधुनी १ का १९ बर्षिय आकाश चौधरी र २० बर्षिय अम्बर चौधरी पक्राउ परेका हुन । अस्थायी प्रहरी पोष्ट घोपाबाट खटिएको प्रहरी टोलीले मोटरसाईकल चोरी गरी लाँदै गरेको अवस्थामा मोटरसाईकलसहित पक्राउ गरेको जनाइएको छ । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
निर्दयी पति– बन्चरोले हानेर पत्नीको हत्या
तेह्रथुमको लालिगुराँस नगरपालिका ३ मुसाङखेलका ४३ बर्षीय नर बहादुर लिम्बु बञ्चरोले हानेर आफनै पत्नीको हत्या गरेका छन ।
हत्याको आरोपमा उनी पक्राउ परेका छन् । आइतबार बिहान ११ बजे लिम्बुले घरायसी बादबिबादको कारण आफ्नै श्रीमती ४७ बर्षीया मईतरानी लिम्बुलाई बन्चरोले प्रहार गरी हत्या गरेका हुन । हत्याको खवर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
ज्वाइँले गरे सासुको हत्या
मोरङको जहदा गाउँपालिका १ की ५५ बर्षीया जोखनी देवी सवरीयालाई उनका नातेदार ज्वाइँले धारिलो हतियार प्रहार गरी हत्या गरेका छन । हत्या आरोपमा ज्वाइँ नाता पर्ने २७ बर्षीय प्रेमलाल मण्डल पक्राउ परेका छन् ।
सवरियाका ज्वाई नाता पर्ने मण्डलले बुधवार बिहान सवा ७ बजेको समयमा सामान्य घरायसी बादबिबादको बिषयमा धारिलो हतियार दाउले टाउकोमा प्रहार गर्दा घाईते भएकी सवरियाको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा बिहिबार दिउँसो २ बजे मृत्यु भएको हो ।
दमकमा भोली प्रदर्शन
पछिल्लो समय समाजमा महिला तथा बालिकामाथि अपराधका घटना बढेको निष्कर्ष निकाल्दै मेची महाकाली संयुक्त बुहारी आवाज नामक संस्थाको अगुवाईमा भोली दमकमा महिलाहरुले प्रदर्शन गर्दैछन ।
कार्यक्रम संयोजक जमुना निरौला अधिकारीका अनुसार देशभर भएका महिलामाथिका जघन्य अपराधका दोषीहरुलाई उन्मुक्ति नदिन खबरदारी गर्दै बिहान ११ बजे गणतन्त्र चोकबाट प्रदर्शन शुरु गर्ने तयारी छ । सो संस्थाले घर घरबाट सबै महिलाहरुलाई सहभागी हुन आव्हान गर्दै बिद्यालय तथा कलेजमा पुगेर बिद्यार्थीहरुलाई समेत प्रदर्शनमा सहभागिताका लागि आग्रह गरिने बताइन ।