विर्तामोड/ किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति झापाका जग्गादाता स्व.नरेन्द्र बहादुर आङबुहाङ ९४ औं जन्मजयन्ती तथा कुसङ्हिम थक्थाम्मा , तङसिङ अनुष्ठान मनाईएको छ ।


विर्तामोडस्थित जिल्ला चुम्लङ कार्यालयमा सोमबार एक कार्यक्रम गरि जन्मजयन्तीसहित अनुष्ठान गरिएको हो । कार्यक्रममा चुम्लुङ्हिम् परिसरमा स्थापना गरिएको स्व. आङ्बुहाङ् र उनकी धर्मपत्नी स्व. कमलादेवीको अर्धकद्को शालिकमा माल्यार्पण गरिएको थियो ।
चुम्लुङका केन्द्रीय सल्लाहकार जित बहादुर लाओतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कियाचु केन्द्रीय सदस्य पूर्ण हाङस्रोङ, हल्दिबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङदेन, कियाचु लिम्बुवान प्रदेश सदस्य इक्साहाङ चेम्जोङ, कियाचु राष्ट्रिय चुम्लुङ् सदस्य अमृत योङहाङ, कियाचु बिर्तामोडका अध्यक्ष धर्म लक्सम्बा लगायतले आफ्नो मन्तव्य राखेका थिए । त्यस्तै,दानवीर आङ्बुहाङको जीवनमाथि चुम्लुङ् झापाका अध्यक्ष भक्त खेवाङले प्रकाश पारेका थिए ।
कियाचु कार्यवाहक अध्यक्ष सेसेहाङ फियाकको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य जिल्ला कोषाध्यक्ष गुमानसिं सम्बाङफेले राखेका थिए । त्यस्तै, कियाचु जिल्ला सह सचिव कबिन्द्र शेर्माले कार्यक्रम संचालन गरेका थिए ।
चुम्लुङको जिल्ला कार्यालय भवन निर्माण गर्न दाताले एक कट्ठा १७ धुर जग्गा दिनुका साथै पक्की कार्यालय भवन निर्माण गरिदिएका थिए । चुम्लुङले बर्सेनी उनको जन्मजयन्ती मनाउदै आएको कार्यवाहक अध्यक्ष फियाकले वताए ।
सोही अवसरमा चुम्लुङ् झापाको रिक्त पदमा मनोनित ४ जना सदस्यहरू कालीबहादुर खेवाङ्, सन्तोष योङ्या, प्रेमचन्द्र लिम्बू र डिल्लीश्वर मुसाहाङ् लाई पद तथा गोपनियताको सपथग्रहण समेत गराईएको थियो ।
कार्यक्रममा झापा जिल्लाका नगर, गाउँ र वडाका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेकोे थियोे भने तङ्सिङ् अनुष्ठान स्थानीय पूजारी लालबहादुर लिम्बुले मुन्धुम वाचन गरेका थिए ।

Facebook Comments Box