दमक/ प्रधानमन्त्री केपी शर्मा ओली आज पूर्वको ताप्लेजुङ र इलाम आउदै छन । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा पर्ने घुन्सा र इलामको सन्दकपुरमा आयोजना हुने दुई वटा कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आज आउने उनका प्रमुख स्वकिय सचिव इन्द्र भण्डारीले जानकारी दिए । प्रधानमन्त्री ओलीले सो क्रममा सीमा क्षेत्रको बोर्डर आउट पोष्ट ( बीओपी) उदघाटन गर्नुका साथै त्यस क्षेत्रका महत्वपूर्ण विकास योजनाहरुका बारेमा जानकारी लिने कार्यक्रम समेत रहेको भण्डारीले बताए । प्रधानमन्त्री ओली आजनै काठमाडौं फर्किने बताइएको छ । त्यसैगरी शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ पनि आजनै झापा आउदैछन ।
दमकसहित यस क्षेत्रका शहरी विकास मन्त्रालय अन्तर्गतका महत्वपूर्ण योजनाहरुका बारेमा जानकारी लिन मन्त्री श्रेष्ठ बिहान ९ बजे भद्रपुर विमानस्थल हुदै यहा आउने भएका हुन । मन्त्री श्रेष्ठसंगै प्रधानमन्त्री ओलीका प्रमुख स्वकिय सचिव इन्द्र भण्डारी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिल्वाल समेत सहभागी हुने छन । शहरी विकास मन्त्रालय अन्तर्गत देशकै ठुलो योजना मध्येको दमकमा दमक भ्यू टावर निर्माणाधिन छ भने पूर्वका स्मार्ट सिटी निर्माणको योजना समेत झापामा छन । झापाको पुरानो बजार गौरीगञ्ज स्मार्ट सिटी बन्ने क्रममा छ । दुई बर्ष अघिदेखि चालू रहेको सो योजनामा चालू आर्थिक बर्षमा भने सरकारले बजेट नछुटयाएको गुनासो छ ।