इटहरी/ कोशी गाउँपालिका ८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई नेपाली किशोरीलाई उद्धार गरिएको छ । भण्टाबारी स्थित सीमामा खटिएको प्रहरी टोलीले किशोरीहरुको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुई किशोरीलाई विभिन्न प्रलोभन देखाएर भारत तर्फ लैजादै गरेका दुई जनालाई समेत पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सप्तरी कृष्णसवरन गाँउपालिका ४ बनौलीका २९ बर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लहान १९ कटाहका २९ बर्षीय जिवछकुमार साह रहेका छन । पक्राउ परेका उनीहरुले नजिकैको भारतीय बजार भीमनगर स्थित मन्दिरमा पुजाका लागि भनेर आफूहरुलाई लगेको किशोरीहरुले बताएका छन । पुजारीसँग पुजामा वस्नु पर्ने, पुजामा वसे वापत पारिश्रमिक पाउने, विरामी हुँदा आफैं ठिक हुने तथा पुजा सकिएपछि पैसा कमाइ हुने लोभ देखाएर उनीहरुलाई त्यस तर्फ लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकामाथि मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार कार्बाही अगाडी बढाईएको कार्यालयले जनाएको छ ।