गौरादह/ झापा गौरादह १ स्थित प्रज्वल कलेजियट एकाडेमी नजिकै आज एक बृद्धा आफनै घर भित्र मृत फेला परेकी छिन । उनको मृत्यु रहस्यमयी भएको बताइएको छ ।
केही समय अघि कमल गाउँपालिकाबाट बसाइँ सरेर आएका भीम भण्डारीकी श्रीमती अन्दाजी ६० बर्षिया ति बृद्धा घर भित्रको खाटमुनी रक्ताम्य अवस्थामा मृत भेटिएकी हुन ।
उनको नाम तत्काल खुल्न नसकेको गौरादह १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले बताए । उनीहरु घरमा हाल पति पत्नी मात्रै बस्दै आएका बताइएको छ । आज बिहानको खाना ढयाङग्रीमा खाएर करिब ११ बजेतिर घर आइपुगेका उनीहरु दुई मध्ये पति भण्डारी दिउँसो पख गौरीगञ्ज तर्फ गएको र अन्दाजी साढे ४ बजेतिर घर आउँदा पत्नीलाई खाटमुनी हात बाँधेको अवस्थामा मृत भेटेका स्थानीय जनता माविका शिक्षक समेत रहेका सञ्चारकर्मी दीपक सुवेदीले जनाएका छन । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्ण कोइरालासहितको टोली पुगेको वडाध्यक्ष भण्डारीले बताए । त्यहँँ अनुसन्धानका लागि धरानबाट प्रहरीले कुकुरसहितको टोली समेत बोलाएको बताइएको छ । अहिले प्रहरीले घेरा हालेर अनुसन्धानको पाटो शुरु गरेको छ ।