दमक/ आज शनिबार मध्यरातीदेखि दमक पूर्णरुपमा लकडउान गर्ने सार्वजनिक गरेको दमक नगरपालिकाले बजारमा लक डाउनको पालना भए नभएको जानकारी लिन दैनिक ३ पटक सम्म अनुगमन गर्ने जनाएको छ ।
नगरपालिकाका प्रमुख रोमनाथ ओलीले नगरका विशेष गरी बढी भिडभाड हुने क्षेत्रहरुमा नगरपालिकाद्धारा गठित बजार अनुगमन समितिलेनै अनुगमन बढाउने र बिहान , दिउँसो र बेलुकी समेत तीन पटक सम्म बजारमा आकस्मिक अनुगमन गर्ने जानकारी दिए । कोरोना संक्रमण समुदाय सम्म फैलिएको जानकारी हुँदा हुँदै पनि मानिसहरुमा हेलचेक्र्याइँ गर्ने प्रवृत्ति नरोकिँदा जोखिम बढिरहेकोले हेल्चेक्र्याइँ रोक्न अब नगरपालिका कडाँइसाथ एक्सनमा उत्रिनु नगर प्रमुख ओलीले बताए । लक डाउन उल्लंघन गर्ने जोकोही माथि कानुनी कारवाही हुने उनको चेतावनी छ ।
नगरपालिकाको भोली आईतबार बस्ने बोर्ड बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक थप निर्णयहरु लिने नगरपालिकाकी उपप्रमुख एवम् प्रवक्ता गीता अधिकारीले जानकारी दिइन् । नगरबासीहरुमा कोरोनाको त्रास रहेको भएपनि लापरवाही गर्ने प्रवृत्ति देखिएको हुँदा बाध्य भएर कडाइँमा उत्रिनु परेको प्रवक्ता अधिकारीले बताइन् ।
औषधि पसल पूर्ण र दुध डेरी आंशिक समय खुल्ने
नगरपालिकाले गर्ने लकडाउनको समयमा औषधि पसल तथा यसको आपूर्तिका लागि पूर्ण रुपमा खुल्ला रहने र दुध डेरी भने बिहान ८ बजे सम्म मात्रै सञ्चालन गर्न पाइनेछ ।
यसबाहेक आपतकालिन सेवाका सवारी साधन र सञ्चारकर्मीका सवारी साधन भने स्वास्थ्य सतर्कता अपनाएर चलाउन पाइनेछ । कसैलाई विरामी अवस्थामा मोटरसाइकल वा अन्य सवारीमा ल्याउनु परेमा सम्बन्धित स्थानीय तहको सिफारिस अनुमति वा सिफारिस अनिवार्य गरिएको छ ।
यस अघि नगरपालिकाले १० जना सम्म भेला हुने सार्वजनिक कार्यक्रमहरु गर्न अनुमति दिने निर्णय गरेकोमा तत्काल लकडाउन अवधिभर त्यसमा पनि रोक लगाइएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाले बताए ।

Facebook Comments Box