दमक/ विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण दिनदिनै बढ्दो गतिमा छ । यस अघि विदेशबाट फर्किएकाहरुमा मात्रै यो संक्रमण देखिने गरेकोमा केही दिन यता स्थानीय समुदायमा समेत देखा पर्न थालेपछि सर्वसाधारण चिन्तित बनेका छन् । सोमबार आज मात्रै कोरोनाका १ सय ३९ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यससंगै देशभर कोरोना संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको छ ।
हालसम्म १३ हजार ७ सय ५४ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ३ लाख ४७ हजार २ सय ७५ जनाको पिसिआर परीक्षण भएको छ ।
अब देशभर ५ हजार ४ सय ४० सक्रिय संक्रमित छन् । हालसम्म मृत्यु भएका ४८ जनामा कोरोनाभाइरस देखिएको छ ।
हिजो भारतमा एकैदिन ७ सय ८ जनाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान जानेको संखया ३२ हजार ७ सय ७१ पुगेको छ ।
भारतसंग खुल्ला सीमा रहेको नेपालमा बोर्डर सील कायमै रहेको भएपनि भारतबाट अन्य मुलुकबाट भारत हुँदै नेपाल प्रवेश गर्ने नेपालीको संख्या धेरै हुँदा त्यसको प्रत्यक्ष प्रभाव समुदायमा परेको छ ।
भारतसंग जोडिएका पूर्व दुई ठुला सहर काँकरभिट्टा र विराटनगरमा कोरोनाका कारण प्रहरी र स्वास्थ्यकर्मी धेरै प्रभावित भएका छन् ।
काँकरभिट्टामा सशस्त्र प्रहरी र विराटनगरमा जनपथ प्रहरी १९ सहित २५ जना संक्रमित भएका छन् । विराट नर्सिङ होममा कार्यरत ४ जना नर्सहरु समेत संक्रमित भएका छन् । यससंगै विराटनगरमा सेमि लक डाउनको अवस्था छ । विराटनगर महानगरपालिकाले अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु आजैदेखि बन्द गरेको छ ।
समुदायमा कोरोनाको संक्रमण देखिएपनि सरकारले यस अघि घोषणा गरेको लक डाउन अन्त्य भएको सार्वजनिक गरिसकेको छ । जनस्तरमा भने लकडाउन खुलेसंगै हाट बजार , सार्वजनिक तथा निजी यातायात आदी सञ्चालन हुँदा कोरोनाको जोखिम उच्च भएको भन्दै चिन्ता उब्जिएको छ । एकातिर समुदायमा कोरोना देखिनु र अस्पतालमा चिकित्सक तथा नर्सहरुनै संक्रमित हुनुले अब कोरोनाबाट संक्रमित हुनेहरुले उपचार पाउन नसक्ने अवस्था आउने पूर्वानुमान भईरहेको छ ।