दमक/  झापाको दमक नगरपालिकाको न्यायिक समितिमा पछिल्लो एक बर्षमा दर्ता भएका कूल २ सय एक मुद्धा मध्ये झण्डै पचास प्रतिशत मुद्धाको निरुपण गरिएको छ ।
गत बर्षको श्रावण १ देखि असार मसान्त सम्ममा विभिन्न १४ प्रकृतिका २०१ मुद्धा नगरपालिकाको न्यायिक समितिमा दर्ता भएका नगरपालिकाका कानुन अधिकृत माधव बस्नेतले जानकारी दिनु भयो ।
दर्ता भएका मुद्धा मध्ये ९५ वटा मुद्धाको छिनोफानो अर्थात निरुपण गरिएको छ । जसमध्ये न्यायिक समितिबाट मात्रै किनारा लाग्न नसकेका १९ वटा मुद्धाका सम्बन्धित व्यक्तिलाई अदालत जान सुझाइएको छ भने ९५ वटा मुद्धा न्यायिक समितिको छलफलकै क्रममा रहेका नगरपालिकाकी न्यायिक समिति संयोजक समेत रहेकी उपमेयर गीता अधिकारीले बताइन् । न्यायिक समितिमा दर्ता भएका मुद्धा मध्ये सबैभन्दा धेरै लेनदेन सम्बन्धिका छन् ।

एक बर्षको अवधिमा आर्थिक लेनदेन सम्बन्धि ४८ मुद्धा दर्ता भएकोमा २१ वटाको निरुपण गरिएको, ४ वटा मुद्धाका सम्बन्धित पक्षलाई अदालत जान सुझाइएको र २३ वटा निरुपण गर्ने प्रकृयामा रहेका जनाइएको छ । लेनदेन पछि उस्तै उस्तै प्रकृतिको सम्पति रोक्का सम्बन्धिका ३९ मुद्धा दर्ता भएका छन ति मध्ये १७ वटा मात्रै निरुपण गरिएका छन भने जग्गा सम्बन्धिका ३२ मुद्दा मध्ये ११ वटा निरुपण गरिएका छन् । पारिवारिक झगडा सम्बन्धिका मुद्धा पनि उच्च संख्यामा पनि दर्ता भएका छन् । २४ वटा त्यस प्रकृतिका मुद्धा मध्ये १३वटा सुल्झाइएको र २ वटा मुद्धा अदालत पठाइएको न्यायिक समितिको रेकर्डमा उल्लेख छ ।


कतिपय मुद्धाहरु न्यायिक समितिमा परेपनि विभिन्न परिवन्धका कारण जनप्रतिनिधिको रोहबरमा अन्यत्रै गएर छलफल गराउनु पर्ने अवस्था समेत रहेको नगरपालिकाका न्यायिक समिति सदस्य कमल श्रेष्ठले बताए । उनले भने– कतिपय पारिवारिक मुद्धाहरुका बिषयमा दुवै पक्षको आग्रहमा न्यायिक समिति संयोजक ज्यूको घरमा बसेर पनि छलफल गर्ने गरेका छौं ।
अघिल्लो आर्थिक बर्ष २०७५/०७६ मा पनि २०० वटा मुद्धा परेका थिए । ति मध्ये २८ वटा विवाद निरुपण हुन नसकेका कारण सम्बन्धित निकायमा जानकारी गराईएको थियो ।

Facebook Comments Box