जनकपुर/जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी ११ वर्षीया एक बालिकालाई आँप दिने भन्दै प्रलोभन देखाएर एक जना भारतीयले बलात्कारपछि हत्या गरेको पुष्टि भएको छ ।
भारतको उत्तर प्रदेश राज्यको मलिहाबाद जिल्ला काकोरी ग्राम पञ्चायत ११ का ३२ वर्षीय दीपु सिंहले एक बालिकालाई बलात्कार पछि हत्या गरेको प्रहरीले जनाएको छ । सिंहले बालिकालाई बलात्कार गरी हत्या गरेको स्वीकारेको धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले बताए । गत शुक्रबार कुर्थाकी ११ वर्षीय बालिकाको शव अर्धनग्न अवस्थामा घरदेखि एक किलोमिटर टाढा दूधमती खोला छेउमा फेला परेको थियो । उनी भैंसी चराउन गएकी थिइन् ।
सिंहले आँप दिने प्रलोभन देखाइ ललाइफकाइ बगैंचाको एकान्त कुनामा लगेर बालिकालाई करणी गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।
हत्यापछि सिंहले बालिकालाई ब्ल्याङ्केटमा बेरेर दूधमती नदीको डिलमा रहेको झाडीमा फालेका थिए । अनुसन्धान गर्ने क्रममा सिंहलाई आइतबार पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए ।

Facebook Comments Box