दमकमा पूर्व बजेट छलफल निरन्तर, आज नगर सभा सदस्यहरुले राखे सुझाव

Author Nishkarsha News
२०७७ जेष्ठ २२, बिहीबार १५:५७

दमक/  झापाको दमक नगरपालिकाले चालू आर्थिक बर्ष २०७६/०७७ का योजनाहरुको अवस्था र आगामी आर्थिक बर्ष २०७७/०७८ को बजेट तथा कार्यक्रम निर्माणका लागि छलफललाई आज पनि निरन्तरता दिएको छ । नगरपालिकाले नगर सभा सदस्य ( जनप्रतिनिधिहरु) संग छलफल गरी आवश्यक सुझाव समेत लिएको छ ।


नगरपालिकाका प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा नगरपालिका उपप्रमुख गीता अधिकारी , प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिना र कार्यपालिका बोर्डका सदस्यहरुले छलफल गरेका हुन् ।
सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाले चालू आर्थिक बर्षको हाल सम्मका योजना तथा कार्यक्रमहरुको प्रगतिका बिषयमा जानकारी गराउँदै आगामी बर्षका लागि महत्वपूर्ण योजना तथा कार्यक्रमहरु छलफलका लागि प्रस्तुत गर्नु भएको छ ।
उहाँले चालू बर्षमा दमकमा नगरस्तरीय कार्यक्रम र राष्ट्रिय बजेटबाट सञ्चालित ठुला योजना तथा कार्यक्रमहरु सन्तोषजनक रुपमा अघि बढेको र केही योजनाहरुलाई कोरोना भाइरसको संक्रमण र घोषित लक डाउनले प्रभावित बनाएको उल्लेख गर्नुभयो ।

छलफलमा नगरपालिकाबाट विपन्न पहिचान, दमक ८ मा अग्र्यानिक कृषि बजार निर्माण, नगरका ६ वटा वडाका वडा कार्यालयसंगै आधारभुत स्वास्थ्य केन्द्र भवन निर्माणका योजनाहरु प्रस्तुत गर्नुभएको छ । राष्ट्रिय बजेटबाट सञ्चालन हुने बुद्ध मुर्ति निर्माण, औद्योगिक क्षेत्र स्थापना लगायतका महत्वपूर्ण योजनाहरुमा भइरहेको प्रगति र आगामी योजनाका बारेमा समेत उहाँले जानकारी गराउनु भएको छ । छलफलमा नगर सभा सदस्यहरु श्याम कार्की, सुकदेव लुइँटेल लगायतले सुझावहरु राख्नु भएको छ । कतिपय सदस्यहरुले उठाएका जिज्ञासाको प्रमुख ओली, उपप्रमुख अधिकारी र प्रमुख प्रशासकिय अधिकृत तिम्सिनाले जवाफ समेत दिनु भएको थियो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्