दमक/ प्रदेश नं १ का तीन जिल्लामा अकालमै तीन जनाले ज्यान गुमाउनु परेको छ ।

पाँचथरको फिदिम नगरपालिका–१० चिलिङदिन हेवा खोलामा करेण्ट लगाएर माछा मार्ने क्रममा करेण्ट लाग्दा एक जनाको ज्यान गएको हो । ४ जनाको समूहमा हेवा खोलामा जेनेरेटर फिट गरेर माछा मार्न खोलाभित्र पसेका हिलिहाङ गाउँपालिका ७ टारीका २८ बर्षिय मदन भन्ने बल बहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । त्यसैगरी खोटाङको साकेला गाउँपालिका –५ साप्सु खोलामा शनिवार पौडी खेल्ने क्रममा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले बस्ने बर्ष १९ का एलिस बस्नेत र बर्ष १९ कै बिक्रम भट्टराई रहेका छन् ।

साप्सुखोला हाईड्रोपावर अनुगमन तथा भ्रमणको लागि सवओभरसियर अध्ययनरत ४० जना बिद्यार्थी र २ जना शिक्षक गएकोमा पौडी खेल्ने क्रममा साप्सु खोलाको दहमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । त्यस्तै उदयपुरको चौदण्डीगढी नगरपालिका–६ पुष्पलाल चोकमा घरको छतबाट लडेर १ जनाको मृत्यु भएको छ । शनिबार बिहान सवा ८ बजे छतमा लुगा सुकाउने क्रममा ३ तले घरबाट लडेर बर्ष ३६ की अनिता भन्ने रेमनीदेवी साह घाइते भएकी थिईन । गम्भीर घाइते भएकी साहलाई उपचारको लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र बेल्टार हुँदै थप उपचारको लागि धरान पठाईएकोमा उपचारको क्रममा आज बिहान सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Facebook Comments Box