कमल गाउँपालिकाका स्वास्थ्य एकाईमा अध्यक्ष राईको नजर

Author Nishkarsha News
२०८३ मंसिर २, मंगलवार २१:४६

झापा/ कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गाउँपालिकाअन्तर्गत सञ्चालित कमल नगर अस्पताल र कमल–३, केर्खास्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन् ।

निरीक्षणका क्रममा अध्यक्ष राईले कमल नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. फुलक चन्द्र लावती र अस्पताल प्रमुख जनस्वास्थ्य निरीक्षक कुशल श्रेष्ठसँग अस्पतालको समग्र सेवा प्रवाह, बिरामी उपचार कक्ष, स्वास्थ्य बीमा तथा निःशुल्क औषधिको उपलब्धता र वितरणको अवस्थाबारे जानकारी लिए ।

त्यसैगरी, एक्स–रे, दन्त सेवा तथा भिडियो एक्स–रे सेवाको सञ्चालन अवस्था र सेवा विस्तारका विषयमा छलफल गरे । सि.अ.न.मी. निरीक्षक गीता मगरातीसँग मातृ तथा शिशु स्वास्थ्य सेवाको अवस्था, ल्याब टेक्निसियन विपिन श्रेष्ठ, अहेव मुना मिश्र र सि.अ.हे.व. विमला राईसँग बिरामीको उपचार तथा औषधि व्यवस्थापनका विषयमा समेत जानकारी लिए ।

स्वास्थ्य शाखा प्रमुख दीपकप्रसाद दाहाल समेत उपस्थित निरीक्षण अनुगमनमा अस्पतालका रेडियोग्राफर खेमप्रसाद पनेरुसँग एक्स–रे सेवाको प्रभावकारिता र व्यवस्थापनबारे छलफल गर्दै अध्यक्ष राईले आवश्यक निर्देशनसमेत दिएका थिए । अस्पतालसम्म पुग्ने सडकको स्तरोन्नति विषयमा पनि छलफल गर्दैै तत्कालै सो काम अघि बढने जानकारी गराए ।

यसैगरी, कमल–३, केर्खास्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको निरीक्षणका क्रममा वडाध्यक्ष अग्नि कोइराला, स्वास्थ्य शाखा प्रमुख दाहाल, स्वास्थ्य संस्था प्रमुख टीकाराज बरदेवा, अनमी अनिता अधिकारी सिवाकोटी तथा कर्मचारी मन्दिल भुजेलसँग स्वास्थ्य संस्थाको वर्तमान अवस्था, औषधिको उपलब्धता, सेवा विस्तार र सेवा प्रवाहमा देखिएका आवश्यकता तथा चुनौतीबारे छलफल गरिएको थियो। सो अवसरमा हालै सम्पन्न राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने अभियानको समीक्षा पनि गरिएको थियो।

गाउँपालिकाले स्वास्थ्य सेवालाई थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्यले स्वास्थ्य संस्थाहरूको नियमित अनुगमन गरिएको बताइएको छ । पूर्ण खोप घरधुरी सर्वेक्षण, पूर्ण खोपको दिगोपना, स्वास्थ्य सेवाको विस्तार तथा आगामी कार्यक्रमहरूको सूक्ष्म योजना र कार्यान्वयन अवस्थाबारे समेत अनुगमनलाई निरन्तरता दिइँदै आएको छ ।

स्वास्थ्य संस्थाको सेवा गुणस्तर सुधार, औषधिको सहज उपलब्धता र नागरिकलाई आफ्नै गाउँपालिकाभित्र भरपर्दो स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले अध्यक्ष राईले गरेको निरीक्षणलाई स्वास्थ्य सेवा सुदृढीकरणको निरन्तरताका रूपमा हेरिएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्