देउसी–भैलोबाट सामाजिक सेवाको सन्देश फैलाउँदै सर्वोदय बाल क्लब

Author Nishkarsha News
२०८३ कार्तिक २७, बिहीबार १५:०३

दमक/ चाडपर्वको रमाइलोसँगै सामाजिक सेवाको सन्देश फैलाउने उद्देश्यले सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयको सर्वोदय बाल क्लबले आयोजना गरेको दुईदिने देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

दमकसहित आसपासका विभिन्न स्थानमा आयोजना गरिएको कार्यक्रममा बालुबथान बजार (गौरादह), स्कुलचौन, नयाँबजार, चुलाचुली–५ र दमकको बेलडाँगी शिविरमा देउसी–भैलो खेलिएको थियो।

कार्यक्रमबाट संकलित रकम सामाजिक कार्यमा उपयोग गर्ने उद्देश्य राखिएको क्लबले जनाएको छ। आर्थिक संकलनलाई मात्र प्राथमिकता नदिई देउसी खेलेका प्रत्येक स्थानमा क्लबले तीन-तीनवटा गमला र डस्टबिनसमेत वितरण गरेको थियो। यसले वातावरण संरक्षण र सरसफाइप्रति सचेतना फैलाउने सन्देश दिएको छ।

कार्यक्रमले विद्यार्थीमा नेतृत्व क्षमता, आत्मविश्वास र सामाजिक उत्तरदायित्वको भावना विकास गर्नसमेत सहयोग पुर्‍याएको आयोजकले जनाएको छ।

कार्यक्रमको सञ्चालन क्लबकी निवर्तमान अध्यक्ष श्रिवीना राईले गरेकी थिइन् भने अध्यक्षता क्लबकी अध्यक्ष जेविका घिमिरेले गरेकी थिइन्। कार्यक्रममा सम्बन्धित टोल विकास संस्था तथा बजार व्यवस्थापन समितिका अध्यक्षहरू प्रमुख अतिथिका रूपमा सहभागी थिए।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्