देउसीमा सारथीको सन्देश : संस्कृति संरक्षणसँगै सुशासन र जवाफदेहिताको पैरवी

Author Nishkarsha News
२०८३ कार्तिक २५, मंगलवार २०:५६

गौरादह/ तिहारको सांस्कृतिक उत्सवलाई सामाजिक चेतना र सुशासनको सन्देशसँग जोड्दै झापाको गौरादहमा सारथी युवा क्लबले देउसीभैलो कार्यक्रम सम्पन्न गरेको छ।

परम्परागत रूपमा देउसीभैलो खेल्ने र रमाइलो गर्ने संस्कृतिभन्दा एक कदम अघि बढ्दै क्लबले यस वर्षको कार्यक्रममा दिगो विकास, सुशासन र जवाफदेहिताको विषयलाई मुख्य नाराका रूपमा अघि सारेको हो।

शुभ दीपावली २०८३ को अवसरमा कार्तिक २४ गते मंगलबार दिउँसो २ बजे गौरादहको डिपु चोकबाट सुरु भएको देउसीभैलो टोलीले बजार परिक्रमा गरेको थियो। नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षणसँगै सामाजिक सद्भाव, भाइचारा र सामूहिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ।

‘दिगो विकास, सुशासन र जवाफदेहिता–हाम्रो समाजको आवश्यकता’ भन्ने मूल नाराले कार्यक्रमलाई सांस्कृतिक मनोरञ्जनमा मात्र सीमित नराखी समाज र सार्वजनिक जीवनप्रतिको नागरिक जिम्मेवारीसँग समेत जोडेको थियो।

कार्यक्रमलाई थप आकर्षक बनाउन सुरज शिक्षा प्रतिष्ठानका विद्यार्थीहरूले प्रस्तुत गरेको देउसी नृत्यले विशेष रौनक थपेको थियो। विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुतिले नेपाली मौलिक कला र परम्पराको संरक्षणमा नयाँ पुस्ताको सहभागितालाई समेत प्रतिबिम्बित गरेको थियो।

२०७९ सालमा स्थापना भएको सारथी युवा क्लबले युवाको सक्रिय सहभागितामार्फत सामाजिक जागरण, सांस्कृतिक संरक्षण र समाज विकासमा योगदान पुर्‍याउने उद्देश्य राख्दै आएको छ। तिहारजस्ता मौलिक पर्वलाई सामाजिक रूपान्तरण र सकारात्मक सन्देश प्रवाहको माध्यम बनाउने क्लबको प्रयासलाई यस कार्यक्रमले थप उजागर गरेको छ।
कार्यक्रममा गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदी, समाजसेवी गंगा कार्की, बाबुराम भण्डारी, शेरबहादुर कार्कीलगायत बुद्धिजीवी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

तिहारको मौलिक परम्परालाई निरन्तरता दिँदै सामाजिक उत्तरदायित्वका विषयसमेत उठान गरेको सारथी युवा क्लबको देउसीभैलोले संस्कृति संरक्षण र सचेत समाज निर्माणमा युवाको भूमिकालाई जोड दिएको छ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्