दमक/ झापाको दमक नगरपालिकाका पूर्व जनप्रतिनिधिहरुबीचको पुनर्मिलन कार्यक्रम दमकमा सम्पन्न भएको छ ।
नगरपालिकाको आयोजनामा बिहीबार नगरपालिकाको प्राङगणमा भएको पुनर्मिलन तथा सम्मान कार्यक्रममा दमक नगर पञ्चायत प्रमुख बलभद्र अधिकारी, पूर्व नगर प्रमुख रोमनाथ ओली, पूर्व उपप्रमुख मोहन कुमार धिमाल, उपप्रधानपञ्च नारदमुनी घिमिरेसहित करिब तीन दर्जन बढी पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ ।

नगर प्रमुख रामकुमार थापाको अध्यक्षतामा सञ्चालन भएको सो कार्यक्रममा दमकमा तीन कार्यकाल प्रधानपञ्चको जिम्मेवारी सम्हालेका बयोबृद्ध बलभद्र अधिकारी, दुई कार्यकाल नगर प्रमुखको जिम्मेवारी सम्हालेका पूर्व नगर प्रमुख रोमनाथ ओली, पूर्व वडाध्यक्षहरु शेरबहादुर भट्टराई र पशुपतिराज गौतमले नगरपालिकाले बिगतमा नगरको बिकासमा योगदान दिने जनप्रतिनिधिहरुलाई स्मरण गरेर इतिहासलाई स्मरण गर्ने मौका दिएको भन्दै प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे ।

सो अवसरमा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँले इतिहासको सम्मान गर्दै वर्तमानका चुनौतीहरुको सामना गर्नु अहिलेको आवश्यकता महसुस गरेर नगरपालिकाले ऐतिहासिक महत्वपूर्ण कार्यक्रम गरेको उल्लेख गरिन् ।
सामाजिक बिकास समिति संयोजक शारदा भट्टराई सापकोटाले शुभकामना मन्तव्य राखिन् । कार्यक्रममा सहभागीहरुलाई प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले कार्यक्रमको औचित्यबारे प्रष्ट्याए । कार्यक्रमको सञ्चालन सामाजिक बिकास शाखाका प्रमुख केशव प्रसाइँले गरेका थिए ।