रोटरी क्लब दमकद्वारा अटिजम तथा दृष्टिविहीन बालबालिकालाई दुई लाखका शैक्षिक सामग्री सहयोग

Author Nishkarsha News
२०८३ कार्तिक १९, बुधबार १०:५६

दमक/ रोटरी क्लब दमकले समुदायमा सहयोग र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै अटिजम भएका तथा दृष्टिविहीन बालबालिकाका लागि २ लाख रुपैयाँ बराबरका शैक्षिक सामग्री उपलब्ध गराएको छ ।

क्लबले केही समयअघि ‘हनुमान अंश’ फिल्मको च्यारिटी शोमार्फत संकलन गरेको १ लाख २० हजार रुपैयाँ र दमक नगरपालिकाबाट प्राप्त थप ८० हजार रुपैयाँ जुटाएर ती सामग्री खरिद गरी हस्तान्तरण गरेको हो ।

बुधबार दमक–९ स्थित सरस्वती माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख उपस्थितिमा रोटरी क्लब दमकका अध्यक्ष सागर श्रेष्ठसहित पदाधिकारी तथा पूर्वअध्यक्षहरूले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन पुरी र प्रधानाध्यापक सीताराम ढकाललाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

क्लबका अध्यक्ष सागर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा दमक–९ का वडाध्यक्ष कुबेर भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन पुरीलगायतले रोटरी क्लबले सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरे । उनीहरूले विशेष आवश्यकता भएका बालबालिकाको शिक्षामा पहुँच अभिवृद्धि गर्न यस्ता सहयोगमूलक कार्यक्रम महत्वपूर्ण हुने धारणा राखे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, सहयोग साझेदार संस्था ध्रुवतारा स्पोर्टिङ क्लबका अध्यक्ष भीमराज चम्लागाईं तथा सचिव हिरामणि खड्का, रोटरी क्लब दमकका पूर्वअध्यक्षहरू नवीन श्रेष्ठ र केशव अग्रवाल, रोटरीयन महिला नेतृ रमा लिम्बूलगायत शैक्षिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

च्यारिटी शोबाट संकलित रकमलाई स्थानीय सरकारको सहकार्यमा शैक्षिक सामग्री सहयोगमा रूपान्तरण गर्दै रोटरी क्लब दमकले सामाजिक सेवामा समुदायको सहभागिता र साझेदारीको उदाहरण प्रस्तुत गरेको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्