झापाली राजनीति र सञ्चार क्षेत्रमा कुनै समय विजयकुमार अग्रवाल एउटा प्रभावशाली र चर्चित नाम थियो । अग्रवाल नेपाली कांग्रेस झापा जिल्ला समितिमा चार कार्यकाल बिताइसकेका नेता हुन् ।
कृष्ण सिटोला र सुधिरकुमार शिवाकोटीको २/२ कार्यकालमा कांग्रेस झापाको जिल्ला समितिमा रहेर पार्टी राजनीति गरेका उनी शिवाकोटीको अन्तिम कार्यकालमा पार्टीको झापा जिल्ला प्रचार विभाग प्रमुखका रूपमा समेत थिए ।
शक्तिशाली पार्टीको जिल्ला प्रचार विभाग प्रमुख , हक्की र स्पष्ट स्वभाव भएकै कारण पनि उनको राजनीतिक सक्रियता र सञ्चारमाध्यममा हुने उपस्थिति विशेष चर्चामा रहन्थ्यो ।
२०६२/०६३ को ऐतिहासिक जनआन्दोलनका बेला झापाको ग्रामीण क्षेत्र महाभारा, बैगुन्धुरा र कोरोबारीका ३३ सदस्यीय संयुक्त जनआन्दोलन समितिको कमान्डरका रूपमा उनले निर्वाह गरेको भूमिका स्मरणीय छ ।
गाउँगाउँसम्म जनआन्दोलनको सन्देश पुर्याउँदै आन्दोलनलाई उत्कर्षमा पुर्याउन उनले गरेको योगदान झापाको राजनीतिक इतिहासको महत्त्वपूर्ण अध्याय हो ।
तत्कालीन महाभारा गाविसको अध्यक्षका रूपमा २०४९ देखि २०५४ र २०५४ देखि २०५९ सम्मको स्थानीय राजनीतिक यात्रामा उनले द्वन्द्व र राजनीतिक अस्थिरताबीच पनि आफ्नो क्षेत्रका नागरिकको सुरक्षा, हित र सामाजिक सद्भावलाई प्राथमिकतामा राखेर भूमिका निर्वाह गरेका थिए ।
तत्कालीन माओवादी विद्रोह र शाही सत्ताको दबाबपूर्ण परिवेशमा जनतासँग जोडिएर काम गर्नु उनको नेतृत्वको एउटा महत्त्वपूर्ण पक्ष थियो ।
अग्रवालको राजनीतिक यात्रामा आरोह–अवरोह पनि आए । नेपाली कांग्रेसभित्रको आन्तरिक संघर्षका कारण संविधानसभा निर्वाचनमा उम्मेदवार बन्न नसकेपछि उनी आफ्नो अडानबाट पछि हट्न मानेनन् ।
तत्कालिन काग्रेस नेता महन्थ ठाकुर नेतृत्वको नवगठित तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट झापाको तत्कालीन क्षेत्र नम्बर ६ मा उम्मेदवार बनिछाडे । केही बर्ष झापाली राजनीतिमा गुमनाम बनेका अग्रवाल कृषि पेशामा सक्रिय भए । तत्कालिन महाभारा गाविसमा उनी मारवाडी किसानका रुपमा सक्रिय हुँदै फेरी राजनीतिमा सक्रिय बने ।
त्यसपछि उनको राजनीतिक यात्रा नयाँ मोडमा पुग्यो । २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट गौरीगञ्ज गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिँदै उनी निकटतम प्रतिद्वन्द्वीका रूपमा स्थापित भए ।
समयले राजनीतिक परिस्थिति बदल्यो, दल बदलिए, भूमिका फेरिए; तर अग्रवालको सामाजिक र बैचारिक सक्रियता ,आम नागरिकहरूसँगको आत्मीय सम्बन्ध बदलिएन । अग्रवालको एउटा असली पहिचान पनि यही हो ।
७७ वर्षको उमेरमा पनि उनकोको सक्रियता, अनुभव र सामाजिक घुलमिल प्रेरणादायी छन् । जात, दल र वैचारिक घेराभन्दा माथि उठेर फराकिलो छातीका साथ मानिसहरूसँग सम्बन्ध राख्ने उनको स्वभावले उनलाई एउटा अब्बल नेतृत्वका रुपमा समाजमा उभ्याइरहेको छ ।
कांग्रेसमा जिवनको लामो समय बिताएका र कांग्रेसीसँगको संगत बिर्सिन नसकेका अग्रवालको बुझाईमा समयले अब नयाँ पुस्तालाई राजनीतिक, सामाजिक क्षेत्रमा खोजिरहेको छ । गगन थापा , विश्वप्रकाश शर्माहरुले कांग्रेसमा चलाएको परिवर्तन र पुस्तान्तरणको अभ्यासलाई उनले सकारात्मक रुपमा लिएको बताएका छन् ।