सन्थाल संस्कृति संरक्षणको आधार दशैं मेला

Author Nishkarsha News
२०८३ कार्तिक १, शनिबार २१:५३

फायल तस्वीर

झापा/ सन्थाल जाति नेपालका लोपोन्मुख सन्थाल जातिको दशैं लागेसँगै झापाका विभिन्न स्थानमा आयोजना हुने परम्परागत दशैं सांस्कृतिक मेलामा सन्थाल समुदायको मौलिक नाच मुख्य आकर्षण बन्ने गरेको छ ।
परम्परागत पोशाक, बाजागाजा र सामूहिक प्रस्तुतिसहित बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सहभागी हुने सन्थाल नाचले दशैं मेलालाई थप आकर्षक, उत्साहपूर्ण र सांस्कृतिक रूपमा अर्थपूर्ण बनाउने गरेको छ।
झापाको गरामनी, कमल गाउँपालिका–५ स्थित लखनपुरको मंगलबारे बजार, समयगढ बजार, झापा गाउँपालिकाको झापा बजार, गौरीगञ्ज बजार तथा बाह्रदशीको चकचकी र राजगढमा दशकौँ अघिदेखि दशैंका अवसरमा सांस्कृतिक मेला लाग्दै आएका छन् ।
यी मेलामा दशैंको समयमा हजारौँ मानिसको भीड लाग्ने गर्छ। धार्मिक आस्था र सामाजिक भेटघाटसँग जोडिएका यी मेलामा सन्थाल समुदायको परम्परागत नाच विशेष आकर्षणका रूपमा रहने गरेको छ।
दशैं सुरु भएसँगै सन्थाल समुदायका महिला, पुरुष, युवा तथा बालबालिका सांस्कृतिक नाचको तयारीमा जुट्छन्। परम्परागत भेषभूषामा सजिएर स्थानीय बाजागाजाको तालमा सामूहिक रूपमा प्रस्तुत गरिने नृत्यले मेला परिसरमा छुट्टै रौनक थप्छ। विभिन्न समूहबीच प्रतियोगितात्मक नाचसमेत सञ्चालन हुने गरेका छन् ।
मेला आयोजक समितिले उत्कृष्ट प्रस्तुति दिने समूहलाई नगद पुरस्कार प्रदान गर्ने भएकाले कलाकारहरूमा आफ्नो मौलिक कला प्रदर्शन गर्ने उत्साह थपिने गरेको छ ।
कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको बुझाईमा  दशकौँदेखि निरन्तर लाग्दै आएका यस्ता मेलाले दशैंलाई धार्मिक उत्सवमा मात्र सीमित नराखी सांस्कृतिक उत्सवका रूपमा समेत स्थापित गर्न सहयोग गरेका छन् ।
सन्थाल समुदायको परम्परागत नाचले मेलालाई थप आकर्षक, अर्थपूर्ण र उत्साहपूर्ण बनाउने गरेको उनको भनाइ छ। यस्ता सांस्कृतिक गतिविधिले स्थानीय समुदायबीच आपसी सद्भाव, एकता र सहअस्तित्वको भावना अभिवृद्धि गर्नसमेत मद्दत पुर्‍याउँछन्।
सन्थाल समुदायका अगुवा तथा धरमपुरस्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयका शिक्षक लक्ष्मण मर्डीले समुदायको परम्परागत नाच र संस्कृतिको संरक्षणमा राज्यका निकायले विशेष ध्यान दिनुपर्ने बताए ।
पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक नृत्य सन्थाल समुदायको पहिचान र इतिहाससँग जोडिएकाले यसको संरक्षण र प्रवद्र्धन आवश्यक रहेको उनको भनाइ छ ।
आफ्नै भाषा, संस्कृति, परम्परा र जीवनशैली रहेको सन्थाल समुदायको सांस्कृतिक सम्पदा संरक्षण गर्नु आजको आवश्यकता हो । बदलिँदो सामाजिक परिवेशमा नयाँ पुस्तालाई मौलिक संस्कृतिसँग जोडिराख्न यस्ता मेला महत्वपूर्ण माध्यम बनेका छन्।
दशैं मेलामा प्रस्तुत हुने सन्थाल नाच मनोरञ्जनको साधन मात्र नभई समुदायको सांस्कृतिक पहिचान र पुस्तान्तरणको जीवन्त माध्यम समेत हो ।
स्थानीय सरकार, मेला आयोजक र सम्बन्धित निकायले यस्ता परम्परालाई प्रोत्साहन गर्दै संरक्षणका कार्यक्रम सञ्चालन गर्न सके पूर्वी तराईको सांस्कृतिक विविधता भावी पुस्तासम्म हस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुग्नेछ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्