काफ्लेको स्मृतिमा आयोजित ब्याडमिन्टन प्रतियोगिता , उपाधि किशोर – कमलको जोडीलाई

Author Nishkarsha News
२०८३ आश्विन २५, आईतवार १३:०३

गौरादह /  पूर्व खेलाडी स्वर्गीय डिल्ली काफ्लेको स्मृतिमा झापाको गौरादह नगरपालिकाभित्रका स्थानीय खेलाडीबीच आयोजित पुरुष ब्याडमिन्टन प्रतियोगिताको उपाधि किशोर कार्की र कमल अधिकारीको जोडीले जितेको छ ।

प्रतियोगिताको फाइनलमा किशोर कार्की र कमल अधिकारीको जोडीले ताराकुमार श्रेष्ठ र बद्री उप्रेतीको जोडीलाई सोझो सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गरेको हो । फाइनल खेलमा विजेता जोडीले २१-१८ र २१-१६ को सेटमा जित निकालेको थियो । ताराकुमार श्रेष्ठ र बद्री उप्रेतीको जोडी द्वितीय भएको छ ।

प्रतियोगितामा प्रथम हुने जोडीले नगद ११ हजार ५ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो हुने जोडीलाई नगद ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा १७ जोडीको सहभागिता रहेको खेलकुद संयोजक दीपेन्द्र खड्काले जानकारी दिए ।

कार्यक्रममा बोल्दै गौरादह नगर खेलकुद विकास परिषद्का उपाध्यक्ष हेमन्त कार्कीले स्थानीय खेलाडीको प्रतिभा पहिचान, खेलकुदको विकास र नयाँ खेलाडीलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले स्वर्गीय डिल्ली काफ्लेको योगदानको स्मरण गर्दै उहाँको सम्झनामा आयोजना गरिएको प्रतियोगिताले स्थानीय खेलकुद क्षेत्रलाई थप सक्रिय बनाउन सहयोग पुग्ने धारणा राखे ।

त्यसैगरी गौरादह नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले स्थानीय स्तरमा खेलकुद गतिविधि विस्तार गर्न वडा तथा नगरपालिकाबीच सहकार्य आवश्यक रहेको बताए । उनले खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न यस्ता कार्यक्रम उपयोगी हुने धारणा व्यक्त गरे ।

प्रतियोगिता गौरादह नगरपालिका वडा नम्बर १ र वडा नम्बर २ को आर्थिक व्यवस्थापनमा सम्पन्न भएको हो । प्रतियोगिताको प्रथम पुरस्कार स्वर्गीय डिल्ली काफ्लेको परिवारले प्रायोजन गरेको आयोजकले जनाएको छ ।

गौरादह नगर ब्याडमिन्टन खेल विकास समितिमा नयाँ नेतृत्व

यसैबीच, गौरादह नगर ब्याडमिन्टन खेल विकास समितिको नयाँ नेतृत्व चयन भएको छ । समितिको अध्यक्षमा दीपक उप्रेती चयन भएका छन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा क्रान्तिदिप काफ्ले, सचिवमा सोमनाथ उप्रेती र कोषाध्यक्षमा हरिश्चन्द्र अधिकारी चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा दीपेन्द्र खड्का, शान्तिराम दाहाल, कृष्ण कार्की, युवराज खड्का, किशोर कार्की, राजु घिमिरे, दिलबहादुर राना, भरत कार्की र तारा श्रेष्ठ रहेका छन् ।

सल्लाहकार समितिको संयोजकमा हेमन्त कार्की चयन भएका छन् । सल्लाहकार सदस्यहरूमा नगेन्द्र भण्डारी, ज्ञानेन्द्र लोहनी, पुण्यप्रसाद सिग्देल, सुवास कटुवाल, रामकाजी कटुवाल र वीरेन्द्र बस्नेत रहेका छन् । नयाँ नेतृत्व चयनसँगै गौरादहमा ब्याडमिन्टन खेलको विकास, स्थानीय खेलाडीको क्षमता अभिवृद्धि तथा प्रतियोगितात्मक गतिविधिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्