झापामा सघन रुपमा एमालेको मिशन जागरण अभियान

Author Nishkarsha News
२०८३ आश्विन २३, शुक्रबार १८:२६

दमक/  नेकपा एमालेले मिशन जागरण अभियान अन्तर्गत झापामा विभिन्न कार्यक्रमहरुलाई तिव्र बनाएको छ । अभियान अन्तर्गत विभिन्न भेला, अन्तरक्रिया, छलफल लगायतका कार्यक्रमहरु भई रहेको एमालेले झापाले जनाएको छ । यसैक्रममा एमालेले अभियान अन्तर्गत झापाको दमकमा क्षेत्रमा रहेका जिल्ला कमिटी सदस्यहरुसँग अन्तरक्रिया सम्पन्न गरेको छ ।

दमकस्थित एमाले पार्टी कार्यालयमा आयोजीत कार्यक्रममा झापा क्षेत्र नं. ५ मा रहेका जिल्ला कमिटी सदस्य तथा उपल्लो कमिटीका सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी समेत  रहेका पार्टी केन्द्रिय सदस्य देवेन्द्र दाहालले सुशासनको माग सहित शुरु भएको युवाहरुको आन्दोलनलाई विदेशी शक्तिहरुको प्रभावमा राष्ट्रियता विरोधीशक्तिले कव्जा गरेको बताए ।

सोहि शक्तिले ३५ वर्षमा देशमा पुराना पार्टीहरुले केहि गरेनन् भनेर अल्गोरिदम मार्फत जनतामा भ्रम फैल्याएको बताए ।  त्यस्ता भ्रमलाई चिर्दै एमालेलाई पहिलो र निर्णायक राष्ट्रिय शक्ति बनाउन क्रियाशिल हुन उनले आग्रह गरे ।  कार्यक्रम एमाले क्षेत्रीय संयोजक नारायण गौतमको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा एमाले झापाका अध्यक्ष प्रेम गिरीले अभियान अन्तर्गत जिल्लाका सवै स्थानीय तहमा पार्टी परिचालित भएको  जानकारी गराए । आसन्न स्थानीय तथा प्रदेश तहको निर्वाचनलाई लक्षित गरि सघन रुपमा परिचालित हुन नेताहरुले कार्यकर्ताहरुलाई निर्देशन दिए ।  कार्यक्रम जेन्जी आन्दोलनका क्रममा ध्वस्त पारिए पछि पुननिर्माण गरिएको पार्टी कार्यालयमा सञ्चालन भएको हो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्