दमक/ स्थानीय तह कार्यान्वयनमा आएको ९ बर्षपछि झापाको कमल गाउँपालिकाले नयाँ प्रशासनिक भवन पाएको छ । स्थानीय तह पुनसंरचनासँगै पालिकाका प्रशासनिक भवनहरु ीनर्माण गर्ने सरकारी योजना कमलमा भने ९ बर्षपछि मात्रै पुरा भएको हो । अघिल्लो जनप्रतिनिधिको कार्यकाल (२०७४–२०७९) मा प्रशासनिक भवन बन्न नसकेपछि कांग्रेस नेता एवं संयुक्त गठबन्धन दलका तर्फबाट साझा उम्मेदवार रहेका हुकुमसिंह राईको आफ्ना्े मुख्य चुनावी प्रतिबद्धतामा नै पालिकाको प्रशासनिक भवन साविक तोपगाछी गाविस रहेको केन्द्रमा नै बनाउने बिषय उल्लेख गरेका थिए । सो प्रतिबद्धता अनुरुप सर्वदलीय /सर्वपक्षीय सहमतीका आधारमा भवन निर्माण प्रकृया शुरु गरि अध्यक्ष राईले सो भवनको शिलान्यास गरेका थिए ।
९ असोजमा भवन निर्माण पूरा गरि अध्यक्ष राईले संक्षिप्त कार्यक्रमबीच भवनको उदघाटन गरेका हुन् । उदघाटन कार्यक्रममा अध्यक्ष राईले प्रशासनिक भवन केवल कार्यालय सञ्चालन गर्ने भौतिक संरचना मात्र नभई नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्ने महत्वपूर्ण आधार भएको बताए ।
उनले स्थानीय सरकारको मुख्य जिम्मेवारी नागरिकलाई छिटो, छरितो, पारदर्शी र सहज रूपमा सेवा उपलब्ध गराउनु रहेको उल्लेख गर्दै नयाँ भवनसँगै सेवा प्रवाहको गुणस्तरमा समेत सुधार ल्याउनुपर्नेमा जोड दिए ।
“भवन निर्माण सम्पन्न हुनु आफैंमा उपलब्धि हो । तर यसको वास्तविक महत्व नागरिकले यहाँबाट पाउने सेवामा देखिनुपर्छ,” अध्यक्ष राईले भने । उनले भवन निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै पक्षप्रति धन्यवाद व्यक्त गर्दै नयाँ संरचनाको सदुपयोगमार्फत नागरिकका अपेक्षा पूरा गर्ने दिशामा गाउँपालिका केन्द्रित हुने बताए ।
नयाँ प्रशासनिक भवन सञ्चालनमा आएसँगै गाउँपालिकाका विभिन्न शाखा तथा सेवाहरूलाई एउटै प्रशासनिक केन्द्रबाट थप व्यवस्थित रूपमा सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालले बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, कमल २ का वडाध्यक्ष अशोक सुब्बा, राजनीतिक दलहरुका तर्फबाट रास्वपाका केदार चापागाइँ, गाउँपालिकाका पूर्व उपाध्यक्ष वेनु शिवाकोटी लगायतले मन्तव्य राखेका थिए ।
गाउँपालिकाका इञ्जीनियर सागर यादवका अनुसार चार तलाको सो प्रशासनिक भवनमा भुइँ तलामा ८, पहिलो तलामा ८, दोस्रो तलामा ८ तथा माथिल्लो तलामा हलसहित २ कोठा गरी कुल २६ कोठा रहेका छन् ।
उपलब्ध विवरणअनुसार प्रशासनिक भवन निर्माणका लागि तयार गरिएको लागत अनुमान ९ करोड ३८ लाख ७४ हजार रुपैयाँ रहेको थियो। निर्माणका लागि सारा सृष्टि निर्माण सेवा प्रालि, धनकुटा–४, देब्रेबाससँग ६ करोड १ लाख ३९ हजार रुपैयाँ बराबरको सम्झौता गरिएको थियो ।
सम्झौता रकममा संघीय सरकारको ६० प्रतिशत र कमल गाउँपालिकाको ४० प्रतिशत लागत सहभागिता रहेको छ ।
भवन निर्माणमा हालसम्म करिब ५ करोड ५० लाख ६८ हजार रुपैयाँ भुक्तानी भएको गाउँपालिकाले जनाएको छ ।
नयाँ प्रशासनिक भवनमा गाउँपालिकाका विभिन्न शाखा तथा कार्यालय सञ्चालन भएपछि सेवाग्राहीलाई एउटै प्रशासनिक केन्द्रबाट विभिन्न सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।
स्थानीय तहको संरचना कार्यान्वयनमा आएपछि गाउँपालिकाको प्रशासनिक कामकाज, विभिन्न शाखा तथा सेवाग्राहीको बढ्दो चाप व्यवस्थापनका लागि पर्याप्त भौतिक पूर्वाधारको आवश्यकता महसुस हुँदै आएको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालले स्वागत मन्तव्य राख्दै प्रशासनिक भवन निर्माणसँगै कार्यालय सञ्चालनका लागि आवश्यक भौतिक वातावरण तयार भएको बताए । व्यवस्थित कार्यालय संरचनाले कर्मचारीलाई जिम्मेवारीअनुसार काम गर्न सहज बनाउनुका साथै सेवाग्राहीलाई पनि सेवा लिन अनुकूल वातावरण तयार गर्ने उनको भनाइ थियो ।
उनले नयाँ भवनमा शाखा तथा प्रशासनिक कार्यहरूलाई व्यवस्थित गर्दै नागरिकलाई सेवा लिन सहज हुने गरी कार्यालय व्यवस्थापन गरिने बताए । साथै सेवा प्रवाहमा प्रविधिको प्रयोग, अभिलेख व्यवस्थापन तथा शाखाहरूबीचको समन्वयलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याए ।
वडा नम्बर २ का वडाध्यक्ष अशोक सुब्बाले नयाँ प्रशासनिक भवन गाउँपालिकाको शान र मौलिकता झल्काउने संरचना भएको बताए । उनले भवनले गाउँपालिकाबाट हुने काम तथा सेवाप्रवाहलाई अझ चुस्त, दुरुस्त र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
भवन निर्माणका क्रममा विभिन्न किसिमका टीकाटिप्पणी भए पनि गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको दृढ संकल्प र अठोटका कारण भवन निर्माण सम्पन्न भएको वडाध्यक्ष सुब्बाले उल्लेख गरे । पुरानो भवनमा पानी चुहिनेलगायतका समस्या भोग्नुपर्ने अवस्था अब हटेको भन्दै उनले भवन निर्माणमा योगदान गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला वडा अध्यक्षहरू, कार्यापालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत कर्मचारीहरु, स्थानीय बासिन्दालगायतको उपस्थिति रहेको थियो ।
नवनिर्मित भवनको प्राविधिक पक्षबारे गाउँपालिकाका इन्जिनियर सागर यादवले भवन निर्धारित प्राविधिक मापदण्डअनुसार निर्माण सम्पन्न गरिएको जानकारी दिए ।
प्रशासनिक भवन निर्माण सम्पन्न भई उदघाटन हुनु र स्वास्थ्यतर्फ तोपगाछीस्थित स्वास्थ्य चौकीको स्तरोन्नति गरी बीमा कार्यक्रमसहित कमल नगर अस्पताल सञ्चालनमा आउनु र कमल गाउँपालिका बालमैत्री घोषणा हुनुलााई अध्यक्ष राईको पदभार ग्रहण ताका लिइएका प्रमुख तीन एजेण्डा (निर्णय) प्रतिबद्धता पुरा भएको उपलब्धीका रुपमा हेरिएको छ ।
विशेषगरी तोपगाछीमै प्रशासनिक संरचना र स्वास्थ्य सेवा दुवैलाई बलियो बनाउने योजनाले स्थानीय नागरिकलाई आफ्नै क्षेत्रमा सरकारी सेवा प्राप्त गर्ने आधार थप मजबुत बनाएको स्थानीय तहको भनाइ छ ।