दमक / शिक्षामा लगानी गर्ने अभियानअन्तर्गत रोटरी क्लब अफ दमकले सरस्वती माध्यमिक विद्यालयका सात जना जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई ‘रोटरी महेश्वरा छात्रवृत्ति’ प्रदान गरेको छ । रोटा वर्षअनुसार सेप्टेम्बरलाई आधारभूत शिक्षामा लगानी गर्ने महिनाका रूपमा अघि बढाउँदै क्लबले यस वर्ष पनि छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको हो। रोटरियन डा. लेखनाथ न्यौपानेले स्थापना गरेको ‘रोटरी महेश्वरा छात्रवृत्ति’मार्फत प्रत्येक विद्यार्थीलाई रु. ५ हजार नगद, स्कुल ब्याग तथा स्टेसनरी सामग्री प्रदान गरिएको छ ।
कार्यक्रमका लागि इन्टरेक्ट क्लब अफ जेम्सले रु. ५ हजार बराबरको शैक्षिक सामग्री सहयोग गरेको छ। त्यस्तै, छात्रवृत्ति अभियानमा डा. लेखनाथ न्यौपानेबाट रु. २१ हजार, रोटरी क्लब अफ दमकबाट रु. १४ हजार तथा क्लबका सचिव देवेन्द्र बरालबाट स्कुल ब्याग विद्यार्थीलाई हस्तान्तरण गरिएको रोटरी क्लब अफ दमकले जनाएको छ।
कार्यक्रममा दमक नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कुबेर भट्टराई ,सरस्वती मावी दमक -९ का प्रधानाध्यापक सीताराम ढकाल,बिद्यालय व्यवस्थापन समिती अध्यक्ष गगन पुरी,जीवन चक्र समाजका प्रतिनिधि ,विभिन्न रोटरीयनहरु,इन्ट्रयाक्ट क्लव अफ जेम्सका प्रतिनिधिहरु ,विभिन्न क्लबका प्रतिनिधिहरु ,विद्यार्थी अभिभावक तथा महेश्वरा छात्रावृतीका सस्थापक लेखनाथ न्यौपाने लगायत उहाँको परिवारको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
शिक्षाबाटै विद्यार्थीको भविष्य निर्माण हुने भएकाले आर्थिक अभावका कारण अध्ययनमा समस्या भोगिरहेका विद्यार्थीलाई सानो भए पनि सहयोग पुर्याउने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिइएको क्लबका अध्यक्ष रोटरियन सागर श्रेष्ठले बताए।