झापामा जापानी इन्सेफ्लाइटिस- कमलमा २६४६८ जनालाई खोप दिइँदै

Author Nishkarsha News
२०८३ भाद्र २८, आईतवार ११:५०

तोपगाछी / झापामा जापानी इन्सेफ्लाइटिस (जेई) को संक्रमणसँगै मृत्युसमेत बढेपछि जोखिम न्यूनीकरणका लागि विशेष खोप अभियान सञ्चालन गरिँदैछ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार भदौ २१ गतेसम्म जिल्लामा ९५ जनामा एक्युट इन्सेफ्लाइटिस लक्षण देखिएकोमा १२ जनामा संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र २ पुरुष रहेका छन्।् ।
जेईका कारण बिरामी पर्ने र मृत्यु हुनेको संख्या बढ्दै गएपछि कोशी प्रदेशका १४ जिल्लामध्ये झापा उच्च जोखिममा रहेको भन्दै पहिलो चरणमै झापामा विशेष खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
यस अभियानमा विशेषगरी ३० वर्षमाथिका नागरिकलाई लक्षित गरिएको छ । बालबालिकालाई नियमित खोप कार्यक्रममार्फत जेईविरुद्धको खोप दिइँदै आए पनि पछिल्लो समय वयस्कमा समेत संक्रमण र मृत्यु देखिएपछि ३० वर्षमाथिको उमेर समूहलाई लक्षित गरी अभियान अघि बढाइएको स्वास्थ्य कार्यालयले जनाएको छ।
अभियानलाई प्रभावकारी बनाउन कमल गाउँपालिकाले पनि तयारी तीव्र पारेको छ । आगामी असोज ५ गतेदेखि सुरु हुने जेई खोप अभियानअन्तर्गत कमल गाउँपालिकामा ३० वर्षमाथिका २६ हजार ४६८ नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य शाखाले जनाएको छ ।
अभियानको तयारी तथा व्यवस्थापनको अवस्था बारे गाउँपालिका अध्यक्ष तथा पालिका खोप समन्वय समितिका अध्यक्ष हुकुमसिंह राई नेतृत्वको उच्चस्तरीय टोलीले गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्था तथा विद्यालयको स्थलगत निरीक्षण गरेको छ ।
अध्यक्ष राईसहित प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकाल, आर्थिक प्रशासन शाखा प्रमुख सृजना राई, शिक्षा शाखा प्रमुख सूर्य न्यौपाने र स्वास्थ्य शाखा प्रमुख दीपकप्रसाद दाहाल सम्मिलित टोलीले खोप केन्द्रको तयारी, जनशक्ति व्यवस्थापन, खोप तथा आवश्यक सामग्रीको अवस्था र लक्षित नागरिकसम्म सूचना पुरयाउने विषयमा अनुगमन गरेको हो ।
अभियान गाउँपालिकाका सातवटै वडाका ८ वटा स्वास्थ्य संस्था तथा आवश्यकता अनुसार सरङपाडा, भूतलुङ, पिङडाँडा, वडा कार्यालय, विद्यालय लगायतका स्थानमा खोप केन्द्र सञ्चालन गरी अघि बढाउने तयारी गरिएको छ ।
टोलीले कमल–१ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र, बसबारी पुगेर केन्द्रका इन्चार्ज रवीन्द्र राई तथा अ न मि विन्द्रा राईसँग अभियानको तयारीबारे छलफल गरेको थियो । अध्यक्ष राईले जेई खोपको लक्ष्यमा रहेका कुनै पनि नागरिक नछुट्ने गरी योजना बनाउन निर्देशन दिँदै खोप व्यवस्थापनसँगै नियमित स्वास्थ्य सेवासमेत प्रभावकारी बनाउन जोड दिए ।
त्यसैगरी कमल–४ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको समेत स्थलगत निरीक्षण गरी केन्द्रको अवस्था, सेवा प्रवाह र जेई खोप अभियानको तयारीबारे छलफल गरिएको थियो। केन्द्रका इन्चार्ज सानु खवास र अनमि झुमा ढुंगानाले अभियानका लागि भइरहेको तयारीबारे जानकारी गराएका थिए ।
टोलीले कमल–३ केराधापस्थित कञ्चनजङ्घा आधारभूत विद्यालयको समेत निरीक्षण गरेको थियो। विद्यालयमा सञ्चालन भइरहेका शैक्षिक गतिविधिका साथै आगामी असोज ५ गतेदेखि जेई खोप केन्द्र सञ्चालन गर्न आवश्यक तयारीका विषयमा विद्यालय पक्षसँग छलफल गरिएको थियो।
यस्तै, कमल–६ स्थित लखनपुर स्वास्थ्य चौकीमा पुगेर नवनिर्मित भवनबाट भइरहेको स्वास्थ्य सेवा तथा जेई खोप अभियानको तयारीबारे जानकारी लिइएको थियो। स्वास्थ्य चौकीका इन्चार्ज देवराज पराजुली, वरिष्ठ सि अ न मि निरीक्षक डम्बरकुमारी शर्मा, वरिष्ठ सि अ न मि निरीक्षक बिनुता संगौला, ल्याब असिस्टेन्ट गीता न्यौपाने र अनमि विद्या प्रधानलगायतसँग अभियान सञ्चालनका विषयमा छलफल गरिएको थियो ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्