दमक/ झापाको दमकमा रहेका भारतीय गोर्खा भूतपूर्व सैनिकहरुको साझा संस्था भारतीय गोर्खा भूतपूर्व सैनिक संगठनले भोटेकोशी बाढी पीडितका लागि एक लाख २५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।
बाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा संगठनले सोमबार दमकमा शोकसभा आयोजना गर्दै बाढीपीडितका लागि संकलन गरिएको एक लाख २५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उपलब्ध गराउने जानकारी गराएको हो ।
अनरी क्याप्टेन असारसिंह खजुम लिम्बुको प्रमुख आतिथ्यतामा दमक १ स्थित संगठनको भवन परिसरमा गरिएको शोकसभामा संगठनका अध्यक्ष प्रेमबहादुर बेघा लिम्बुले भोटेकोशी बाढीका कारण भएको जनधनको क्षतिको दृश्य असह्य रहेको बताउँदै पीडित परिवारको दुःखमा साथ दिन संगठनले राहत रकम उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।
उनले विपद्को समयमा सबै क्षेत्रबाट मानवीय सहयोग आवश्यक रहेको उल्लेख गर्दै पूर्व भारतीय गोर्खा सैनिक तथा उनीहरूका परिवारलाई राहत अभियानमा सहभागी हुन सार्वजनिक रुपमा अपिल गरिएको बताए ।
पूर्व भारतीय गोर्खा सैनिकका परिवारबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने संगठनका सचिव श्रीप्रसाद राईले जानकारी दिए ।
सचिव राईका अनुसार शोकसभामार्फत बाढीपीडितप्रति श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्दै संगठनमा आबद्ध परिवारबाट सहयोग रकम संकलन गरिएको हो । उनले विपद्का बेला पीडितलाई तत्काल राहत पुर्याउन सकियोस् भन्ने उद्देश्यले सहयोग रकम उपलब्ध गराउन लागिएको बताए ।
