डाँफे सामुदायिक सहकारीको १९ औं साधारण सभा बार्षिक नीति कार्यक्रम पारित गर्दै समापन

Author Nishkarsha News
२०८३ भाद्र २०, शनिबार २०:४६

दमक/ झापाको दमकमा मुख्य कार्यालय स्थापना गरी विभिन्न सेवा केन्द्रहरुमार्फत आफ्ना सदस्यहरुमाझ वित्तीय कारोबार गर्दै आएको डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले बार्षिक गतिबिधिहरुको समिक्षासँगै आगामी नीति कार्यक्रमहरु पारित गरेको छ ।

संस्थाको शनिबार सम्पन्न १९ औं बार्षिक साधारण सभामा आर्थिक बर्ष २०८३/०८४ का लागि महत्वपूर्ण योजना तथा कार्यक्रमहरु पारित गर्दै संस्थाले सञ्चालन गर्दै आएको विभिन्न बिधामा सम्मान कार्यक्रमलाई पनि निरन्तरता दिएको छ ।


समुदायमा आधारित सो सहकारील जेष्ठ शेयर सदस्य ८९ बर्षीय धनपति पोखरेल, संस्थाका संस्थापक तथा पूर्व ऋण समिति संयोजक मेघराज तिम्सिना , संस्थाका दमक बजार प्रतिनिधी प्रदिप श्रेष्ठ र उदियमान पत्रकार गृष्मा सापकोटालाई नगद पुरस्कारसहित सम्मान गरेको छ । संस्थाका अध्यक्ष तुलाराम न्यौपानेको सभापतित्व र जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेम कोइरालाको प्रमुख आतिथ्यमा आयोजित साधारण सभामा सो सम्मान गरिएको हो ।

त्यसैगरी संस्थाले हरेक बर्षझैं यो बर्ष पनि उत्कृष्ट सेवा केन्द्र छनोट गरी गौरादह सेवा केन्द्रलाई पुरस्कृत गरेको छ । संस्थाले चालू आर्थिक बर्ष २०८३÷०८४ मा पनि शैक्षिक अभिभावकत्व ग्रहण कार्यक्रमलाई निरन्तरता दिँदै सामाजिक उत्तरदायित्व अन्तर्गत यो बर्ष दुई जना बिद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने, भोटेकोशीका बाढी पीडितहरुका लागि संस्थाको तर्फबाट नगद १ लाख रुपैयाँ प्रदान गर्ने पनि अध्यक्ष न्यौपानेले जानकारी गराए ।


सभा समापनको सो कार्यक्रममा संस्थाका आगामी नीति कार्यक्रमहरुबारे प्रष्ट्याउँदै अध्यक्ष न्यौपानेले संस्थाले सदस्यहरुको अधिकतम हितलाई ध्यानमा राखिएको बताए । उनले संस्थामा सदस्यहरुले गरेको विश्वासका कारण ठुलो रकम बैंक मौज्दात रहेको उल्लेख गर्दै महिला उद्यमी कर्जा अधिकतम लगानी गर्ने संस्थाले लक्ष्य राखेको बताए । उनले सदस्यहरुका लागि बीमा कार्यक्रम मार्फत अधिकतम सेवा प्रदान गरिने बताउँदै सबै सदस्यहरुलाई बीमा कार्यक्रममा सहभागिताका लागि आग्रह गरे ।
संस्थाले अघिल्लो बर्ष सम्म लिएका २३ वटा नीतिहरु मध्ये ऋण नीति, कर्मचारी नीति र आन्तरिक लेखा परिक्षण नीतिलाई समय सापेक्ष र राज्य तथा नियामक निकायबाट तोकेका शर्त तथा निर्देशनका आधारमा संशोधन गरिएको गरिएको छ । सो अवसरमा प्रमुख अतिथी कोइराला, मेनेजर्स क्लब झापाका अध्यक्ष खोमप्रसाद बगाले लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका लेखा समिति संयोजक हेमचन्द्र खनालले लेखा समितिको बार्षिक प्रतिवेदनबारे जानकारी गराउँदै संस्थाले आफ्नो प्रतिस्पर्धी वित्तीय संस्था पहिचान गरी प्रतिस्पर्धाका आधारमा ब्याजदर कटौती गरेर भए पनि कर्जा प्रवाहको दरलाई बढाउन आवश्यक देखिएको सुझाव राखे । बार्षिक एक अर्ब बराबरको वासलात ( कारोबार) पुगेको संस्थामा हाल १५/१६ करोड भन्दा बढी लगानी योग्य पुँजी बैंक मौज्दातका रुपमा रहेको पनि जानकारी गराइयो । संस्थाका सचिव लिलानाथ खनालले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष सन्तोष श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्