प्रथम गौरादह महिला फुटबल प्रतियोगिता सुरु हुँदै

Author Nishkarsha News
२०८३ भाद्र १९, शुक्रबार १३:४८

गौरादह / महिला फुटबलको विकाससँगै खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रथम गौरादह महिला फुटबल प्रतियोगिता २०८३ आजदेखि सुरु हुँदैछ ।

स्पर्श सामाजिक क्लब गौरादहको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा रोथखोला एफसी, वेस्ट बंगाल र फेयर एफसी, धरान आमनेसामने हुँदैछन् । गौरादह नगरपालिका १ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा हुने उद्घाटन खेल दिउँसो ३ः३० बजेबाट सुरु हुनेछ ।

प्रतियोगितामा भारतको एक टोलीसहित नेपालका सात गरी कुल आठ महिला फुटबल टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । महिला खेलाडीको प्रतिभा उजागर गर्ने, खेलकुद क्षेत्रमा महिलाको सहभागिता बढाउने तथा स्थानीय स्तरमा महिला फुटबलको वातावरण निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद रु. १ लाख ११ हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, उपविजेता टोलीले रु. ५५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।
खेलाडीको व्यक्तिगत प्रदर्शनलाई प्रोत्साहन गर्न विभिन्न विधामा समेत पुरस्कारको व्यवस्था गरिएको छ । ‘प्लेयर अफ द टुर्नामेन्ट’ ले नगद रु. १० हजार प्राप्त गर्नेछ भने बेस्ट गोलकिपर, बेस्ट मिडफिल्डर, बेस्ट डिफेन्डर, बेस्ट फरवार्ड र हाइस्कोरर लाई जनही रु. ५ हजार प्रदान गरिनेछ । त्यस्तै, प्रत्येक खेलको उत्कृष्ट प्रदर्शन गर्ने ‘प्लेयर अफ द म्याच’ लाई रु. ३ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताले महिला फुटबलको प्रवर्द्धनसँगै लागूऔषधविरुद्ध जनचेतना अभिवृद्धि गर्ने सन्देशसमेत प्रवाह गर्ने आयोजकको भनाइ छ । प्रतियोगिता हेर्न स्थानीय खेलप्रेमी, अभिभावक तथा दर्शकको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ । गौरादहमा पहिलोपटक आयोजना हुन लागेको महिला फुटबल प्रतियोगितालाई स्थानीय खेलकुद विकासका दृष्टिले समेत महत्वपूर्ण रूपमा हेरिएको छ । भदौ १९ गतेदेखि सुरु हुने प्रतियोगिताको फाइनल खेल भदौ २८ गते हुनेछ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्