कविता ‘अङ्कुर’ — ममता राई

Author Nishkarsha News
२०८३ भाद्र १८, बिहीबार १७:००

अङ्कुर

एकैछिनमा रङ्गीचङ्गी गाउँ–सहर उजाड भए,
भेलका छाल चढ्दै जाँदा घर–आँगन बगेर गए।
जहाँ हाँसोका स्वर गुञ्जन्थे, आज मौन भयो गाउँ,
जहाँ जीवनको रङ थियो, आज बिरानो भयो ठाउँ।

आर्यघाटको धुवाँसँगै आफन्तका सम्झना उडे,
भेलसँगै पुराना चौतारा, आँगन र पँधेरा छुटे।
गोठ र पिँढीका ती गफहरू बताससँगै हराए,
दोबाटो हुँदै बजार जाने बाटाहरू निर्जन भए।

नदी ओर्लिएपछि किनारभरि घरका चिनारी बाँकी,
लेदोमुनि पुरिएका ढुङ्गा, चौकोस र भर्‍याङ बाँकी।
चिसो चुलो, भिजेको आँगन, भित्ताभरि माटो छ,
घर थियो जहाँ हिजो, आज त्यहाँ बगर मात्रै छ।

तर माटोमुनि कतै अझै न्यानो सास बाँकी,
रित्तिएका ती आँखाभित्र फर्किने आस बाँकी।
फेरि चौतारीमुनि साँझको बतास चल्नेछ,
देउरालीको बाटो हुँदै गाउँको गीत गुन्जनेछ।
आज रित्तिएको आँगनमा भोलि जीवन फुल्नेछ,
उजाडिएको यही माटोमा एउटा अङ्कुर उम्रनेछ।

(लेखक एपीएफ प्रहरी नायब निरीक्षक पनि हुनुहुन्छ)

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्