दमक/ सामाजिक सेवाका क्षेत्रमा क्रियाशील युवाहरु आवद्ध रोटरी क्लब अफ दमकको अगुवाईमा झापाको दमक ९ स्थित दमक बाल आश्रम परिसरमा बालबालिकाहरुको खेलकुद र मनोरञ्जनका लागि खेल उद्यान स्थापना गरिएको छ ।
स्वैच्छिक रुपमा क्लबका सदस्यहरुबाट, मारवाडी युवा मञ्च दमक, इन्ट्रयाक क्लब अफ जेम्स र बेलायतमा रहेका रामेश्वरी र सुनिल श्रेष्ठ समेतबाट संकलित सहयोग रकमबाट खेल उद्यान स्थापना गरिएको हो ।

रोटरी क्लब अफ दमकका अध्यक्ष सागर श्रेष्ठका अनुसार क्लबको बार्षिक कार्ययोजनामा समेत नरहेको सो योजना आश्रममा आश्रित बालबालिकाहरुको आवश्यकतालाई मध्यनजर गरेर सम्पन्न गरिएको हो । आश्रममा रहेका बालबालिकाहरु खेलकुद सामग्रीहरुसहितको खेल उद्यानमा रमाएका देखिन्थे ।

अध्यक्ष श्रेष्ठको सभापतित्वमा बुधबार बिहान दमक ९ का वडाध्यक्ष कुबेर भट्टराईको प्रमुख आतिथ्यमा संक्षिप्त कार्यक्रम गरेर सो खेल उद्यानको उदघाटन गरिएको छ । उदघाटनका अवसरमा दमक नगरपालिका ७ नम्बर वडाध्यक्ष भिम पौडेल र ८ नम्बर वडाध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश)ले शुभकामना मन्तव्य राख्दै स्थानीय सरकारको दायित्व भित्र पर्ने अनाथ बालबालिकाहरुको संरक्षण र लालनपालन गर्ने जिम्मेवारी दमक बाल आश्रमले पुरा गरिरहेको भनि प्रशंसा गरे । उनीहरुसहित प्रमुख अतिथी वडाध्यक्ष भट्टराई, आश्रमकी सञ्चालक समिति अध्यक्ष मन्धरा चिमरिया पौडेल लगायतले रोटरी क्लबको अगुवाईमा दाताहरुले आश्रित बालबालिकाहरुको रुची र आवश्यकतालाई मध्यनजर गरेर आश्रम परिसर भित्रै खेल उद्यान स्थापना गरेर समाजमा ठुलो योगदान पुरयाएको भन्दै धन्यवाद व्यक्त गरे ।

रोटरी क्लब अफ दमकका पूर्व अध्यक्ष नविन श्रेष्ठले रोटरी क्लबले स्थापनाकालदेखिनै गर्दै आएका सामाजिक कार्यक्रमहरु र यसको उद्धेश्यबारे प्रष्ट्याएका थिए भने कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ दमकका सचिव देवेन्द्र बरालले गरेका थिए ।
सो अवसरमा सामाजिक सेवामा क्रियाशील व्यक्तित्वहरु रामकुमारी पौडेल, रमा लिम्बु, आश्रमकी सञ्चालक मेनुका बुढाथोकी, रोटरी क्लब अफ दमकका पूर्व अध्यक्ष सन्दिप चापागाइँ, रोटरी अभियानमा सक्रिय बिकास अग्रवाल, भेनस श्रेष्ठ, शान्तिराम निरौला लगायतको उपस्थिती रहेको थियो ।
