गौरादह / झापाको गौरादहमा पहिलोपटक महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। स्पर्श सामाजिक क्लब गौरादहको आयोजनामा ‘पहिलो गौरादह महिला फुटबल प्रतियोगिता–२०८३’ सञ्चालन हुन लागेको हो।
प्रतियोगिता भदौ १९ गतेदेखि गौरादह–१ स्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा हुने आयोजकले जनाएको छ। सोमबार आयोजकले पत्रकार सम्मेलन गरेर खेल तालिका र कप सार्बजनिक गरिएको हो । ‘गौरादहको गर्व, महिला फुटबलको पर्व, लागूऔषधमुक्त समाज हाम्रो संकल्प’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगिताको उद्देश्य महिला खेलाडीलाई खेलकुदमा प्रोत्साहन गर्नुका साथै युवालाई लागूऔषधविरुद्ध सचेत गराउनु रहेको आयोजक क्लबका अध्यक्ष उज्वल दहालको भनाइ छ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत विभिन्न विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता तथा प्लेयर अफ द टुर्नामेन्टलगायतका विधामा खेलाडी पुरस्कृत हुने खेल सम्योजक युवराज खडकाले बताए । महिला फुटबलको विकास र स्थानीय खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितालाई गौरादहमा महिला खेलकुदको विकासका लागि महत्वपूर्ण सुरुवातका रूपमा हेरिएको छ।