दमकका तीन व्यवसायीबाट भोटेकोशी बाढी पीडितलाई २ लाख बढी सहयोग

Author Nishkarsha News
२०८३ भाद्र १३, शनिबार १९:००

दमक/ झापाको दमकका तीन व्यवसायीहरुले भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका प्रभावितहरुको राहत तथा उद्धारका लागि प्रधानमन्त्री विपद् राहत तथा उद्धार कोषमा स्वैच्छिक रुपमा उल्लेखीय सहयोग रकम जम्मा गरेका छन् ।
दमकस्थित दमक कृषि डेरी एण्ड एग्रो प्रालि र  गर्तौला भेट्स फर्माका तर्फबाट कूल १ लाख  १० हजार  २ रुपैयाँ सहयोग रकम प्रदान गरिएको हो ।
दमक उद्योग वाणिज्य संघका तृतीय उपाध्यक्ष समेत रहेका ति उद्योग तथा व्यवसायीक फर्मका सञ्चालक सुभाष गर्तौलाले प्राकृतिक विपत्तीमा मानवीय सेवाको भावना राखेर सरकार मातहतको सो कोषको आधिकारिक बैंक खाता रहेको क्यू आर कोडमार्फत सो रकम प्रदान गरेका हुन् ।

यस अघि दमकस्थित सिग्देल डिपार्टमेन्टल स्टोरका सञ्चालक लोकनाथ सिग्देलले सोही कोषमा राहत तथा सहयोग स्वरुप ५१ हजार रुपैयाँ र ग्लोबल मेडिल्याब एण्ड सर्जिकल प्रालिका तर्फबाट सञ्चालक बद्री बरालले सोही कोषमा ५० हजार रुपैयाँ राहत तथा सहयोग स्वरुप प्रदान गरिसकेका छन् । बाढी पीडितहरुका लागि देशैभरबाट सहयोगी मनकारी दाताहरुले प्रदान गर्दै आएको सहयोग उदाहरणीय रहेको चर्चाका बीच दमकका व्यवसायीहरुले आफ्नो व्यवसायीक क्षेत्रबाट आर्जन गरेको नाफाको उल्लेखीय हिस्सा मानवीय सेवामा समर्पण गरेर नमुना प्रस्तुत गरेका हुन् ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्