दमक/ जनैपूर्णिमा अर्थात् रक्षाबन्धन पर्व आज शुक्रबार देशभर धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार मनाइँदैछ। यस अवसरमा बिहानैदेखि दमकका मन्दिर तथा शक्तिपीठहरूमा भक्तजनको चहलपहल बढेको छ।


जनैपूर्णिमाका दिन घर, मन्दिर तथा शक्तिपीठमा खस आर्य समुदायका तागाधारी पुरुषहरूले विधिपूर्वक पुरानो जनै फेरेर नयाँ जनै धारण गर्ने परम्परा छ। यस्तै, दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु, सुख–समृद्धि र सुरक्षाको कामना गर्दै प्रेमपूर्वक हातमा रक्षाबन्धन (राखी) बाँधिदिने चलन रहेको छ।

कतिपय भक्तजनहरूले मन्दिर तथा शक्तिपीठमा पुगेर गुरु–पुरोहितबाट मन्त्र उच्चारण गरी अभिमन्त्रित जनै तथा रक्षाबन्धन ग्रहण गर्ने गरेका छन्। धार्मिक मान्यताअनुसार मन्त्रिएको जनै तथा रक्षाबन्धन धारण गर्दा नकारात्मक प्रभावबाट सुरक्षा प्राप्त हुने विश्वास गरिन्छ।
बिहानैदेखि दमकस्थित पशुपति मन्दिर परिसरमा पनि मन्त्रिएका जनै तथा रक्षाबन्धन ग्रहण गर्न जाने भक्तजनको भीड देखिएको छ। मन्दिरका पुजारीबाट विधिपूर्वक मन्त्रिएका जनै तथा रक्षाबन्धन लगाउन भक्तजनहरू बिहानैदेखि मन्दिर परिसरमा पुगेका हुन्।
जनैपूर्णिमालाई धार्मिक पर्वसँगै दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता, प्रेम र पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने पर्वका रूपमा समेत लिइन्छ। विशेषगरी रक्षाबन्धनका दिन दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँधेर एकअर्काको सुख, स्वास्थ्य र समृद्धिको कामना गर्ने गर्दछन्।
यस पर्वलाई विभिन्न समुदायले आ–आफ्ना मौलिक परम्परा र संस्कृतिअनुसार मनाउने गरेका छन्। बिहान धार्मिक विधिपूर्वक जनै तथा रक्षाबन्धन धारण गरेपछि परिवार तथा आफन्तबीच भेटघाट गर्ने र शुभकामना आदानप्रदान गर्ने क्रमसमेत चल्ने गरेको छ।


