किराँत राई यायोक्खा झापाको अधिवेशन भदौ २० र २१ गते

Author Nishkarsha News
२०८३ भाद्र १०, बुधबार २१:४०

बिर्तामोड/  किरात राई यायोक्खा जिल्ला कार्य समिति झापाको नवौं जिल्ला अधिवेशन भदौ २० र २१ गते विर्तामोडमा हुने भएको छ । बुधबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा अधिवेशनबारे जानकारी गराइएको हो ।
किरात राई यायोक्खा झापाका अध्यक्ष गणेश बहादुर राईले जनगणना २०७८ को तथ्याङ्क अनुसार झापामा करिव ६० हजार जनसंख्यामा राईहरु रहेको र २६ भाषी राईहरु मध्ये प्रायः सबै भाषी राईको झापामा बसोबास रहेको जानकारी दिए ।
प्रकृतिसँग रमाउने, आफ्नो कुल धर्मलाई सदैव शिरमा राखेर हिड्ने, सबै जातजाति, धर्म सम्प्रदायसँग मित्रभाव प्रकट गर्दै हिंड्ने किरात राईहरुको विषेशता रहेको जानकारी दिँदै सचिव गौरीमान राईले केही दाजुभाईले उठाउँदै आएको सुनसरीको धरान स्थित ऐतिहासिक किरात समुदायको स्थल विजयपुर दरवार आपसी समझदारीमा समाधान हुँदै गएको जानकारी दिए ।
अधिवेशन सम्पन्न गर्न लिलाबहादुर राईको संयोजकत्वमा तयारी उपसमिति, गौरिमान राईको संयोजकत्वमा आर्थिक उपसमिति, सन्देश राईको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, चिजा राईको संयोजकत्वमा अतिथी सत्कार उपसमिति र सुनिल राईको संयोजकत्वमा युवा तथा स्वयंसेवक उपसमिति निर्माण गरिएको अध्यक्ष गणेशबहादुर राईले जानकारी दिए ।
यायोख्खाका केन्द्रीय अध्यक्ष जीवन हताचो राईको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना हुने कार्यक्रममा करिब ५ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
अधिवेशनबाट नयाँ समिति निर्माण हुने छ । वर्तमान अध्यक्ष राईले अध्यक्षमा पुन दोहोरिने संकेत गरे । साथीहरूले भन्नु भयो भने एक कार्यकाल दोहोर्याउन सक्छु, सक्षम साथीहरु योजना सहित आउनु भयो भने अध्यक्षको कुर्सीमा बसेर आउँछु – उनले भने ।
प्रचार प्रसार उपसमिति संयोजक सन्देश राईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा अध्यक्ष गणेश बहादुर, सल्लाहकार दिपिन राई, जिल्ला सहकोषाध्यक्ष आनन्द राई र बिर्तामोड नगर अध्यक्ष बेनु राईको उपस्थिति रहेको थियो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्