गौतमले गरे जन्मदिनमा शैक्षिक सहयोग

Author Nishkarsha News
२०८३ भाद्र ९, मंगलवार २१:३४

झापा/  जन्मदिनका अवसरमा हुने तडकभडक र फजुल खर्चलाई निरुत्साहित गर्दै हाम्रो नेपाल संस्था साकोसका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष राजेन्द्र गौतमले जेहेनदार छात्राको शिक्षामा सहयोग गरेका छन्।

गौतमले आफ्नो जन्मदिनको अवसरमा लक्ष्मी क्याम्पस, बनियानीमा बीबीएस प्रथम वर्षमा अध्ययनरत मोनिका राजवंशीलाई पाँच महिनाको शिक्षण शुल्कसहित आवश्यक शैक्षिक सामग्री सहयोग गरेका हुन्। मंगलबार क्याम्पसमा आयोजित कार्यक्रममा गौतमले छात्रा राजवंशीलाई  सहयोग हस्तान्तरण गरे।

जन्मदिन मनाउने नाममा होटल तथा रेस्टुरेन्टमा ठूलो रकम खर्च गर्ने प्रवृत्ति बढिरहेका बेला त्यसको सट्टा विद्यार्थीको शिक्षामा सहयोग गर्ने उद्देश्यले आफूले यस्तो कार्यक्रम गरेको गौतमले बताए।  भोजपुरको अरुण गाउँपालिकामा जन्मिएका गौतम विगत तीन दशकदेखि पत्रकारितामा समेत क्रियाशील छन्।

उनी नेपाल प्रेस युनियनका केन्द्रीय सदस्यसमेत हुन्। सहकारी क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेका गौतमले व्यक्तिगत खुसीलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै विद्यार्थीको शिक्षामा सहयोग गरेका हुन्। कार्यक्रममा हाम्रो नेपाल साकोस, बनियानी सेवाकेन्द्र सञ्चालन उपसमितिका संयोजक शुक्रराज लिम्बु ‘किरण’ले संस्थाको नेतृत्वमा रहेका व्यक्तिले व्यक्तिगत तवरबाट समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्नु उदाहरणीय भएको बताए।

यस्ता गतिविधिले समाजमा सकारात्मक ऊर्जा थप्ने उनको भनाइ थियो। लक्ष्मी क्याम्पसका प्रमुख मोतीलाल राजवंशीले विद्यार्थीको उज्ज्वल भविष्यका लागि गरिएको सहयोगले शैक्षिक क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए। उनले गौतमलाई जन्मदिनको शुभकामना दिँदै क्याम्पस परिवारका तर्फबाट धन्यवादसमेत व्यक्त गरे।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्