दमक/ दमक उद्योग वाणिज्य संघको ३६ औ स्थापना दिवस तथा वार्षिक उत्सवको अवसरमा आगामी भाद्र ५ र ६ गते दुईदिन अन्तर बस्तुगत संघ फुटसल प्रतियोगिताको तयारी तीब गतिमा भइरहेको छ । संघले मंगलबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गर्दै सो प्रतियोगिताका बारेमा थप जानकारी सार्वजनिक गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका खेलकुद समिति सभापति कृष्ण कटुवालको प्रमुख आतित्थ्यतामा भाद्र ५ गते बाट शुरु हुने प्रतियोगितामा अन्तर बस्तुगत संघ अन्तरगतका ११ वटा टिम सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईँ (गोपाल)का अनुसार सो प्रतियोगितामा प्रथम पुरस्कार ३३ हजार ३ सय ३३ रुपैयाँ, दोस्रो पुरस्कार २२ हजार २ सय २२ रुपैयाँ र तेस्रो पुरस्कार अर्थात अनुशासित टिमलाई ३ हजार ३ सय ३३ रुपैयाँ रहेको छ ।
ब्यवसायीहरुको व्यस्त समयका बाबजुद खेलकुदका माध्यमबाट आत्मियता बिकास गर्ने र खेलुकदका माध्यमबाट स्वस्थ रहन अभिप्रेरित गर्ने उद्धेश्यले संघले चौथो पटक यो प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिताको म्यान अफ दि टुर्नामेन्टलाई २ हजार ५ सय २५ रुपैयाँ, उत्कृष्ट गोलरक्षकलाई २ हजार २ सय २२ रुपैयाँ र प्रत्येक खेलका म्यान अफ दि म्याचलाई ११ सय ११ रुपैयाँका दरले जम्मा १२ हजार २ सय २१ रुपैयाँ वितरण गरिने दमक उद्योग वाणिज्य संघको खेलकुद तथा स्वास्थ्य उपसमितिका संयोजक कृष्णराज दाहालले जानकारी दिए ।
दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रुवल अधिकारीको सञ्चालनमा भएको पत्रकार सम्मेलनमा उपसमितिका संयोजक कृष्णराज दाहालको अध्यक्षता रहेको थियो भने कार्यक्रमको समापन बरिष्ठ उपाध्यक्ष भगवान बस्नेतले गरेका थिए । कार्यक्रममा संघका पूर्व अध्यक्ष विजय बरालसहित संघका कार्यसमिति पदाधिकारी, सदस्यहरु, सल्लाहकार समितिका सदस्यहरु तथा खेलकुद उपसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।