सरकारको प्रतिबद्धतापछि म्यानपावर व्यवसायीहरुको आन्दोलन स्थगित

Author Nishkarsha News
२०८३ भाद्र १, सोमबार १३:३६

काठमाडौं/ वैदेशिक रोजगार व्यवसायी र सरकारबीच सहमति भएपछि म्यानपावर व्यवसायीहरूले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले १५ बुँदे माग राखेर आन्दोलन गर्दै आएको थियो। संघले साउन २९ गतेदेखि चरणबद्ध संघर्षका कार्यक्रम अघि बढाएको थियो।

संघ र युवा, श्रम तथा रोजगार मन्त्रालयबीच आइतबार भएको छलफलपछि सरकारले व्यवसायीका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै आन्दोलन रोकिएको हो।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता पिताम्बर घिमिरेले हस्ताक्षर गरेको पत्रमा व्यवसायीले उठाएका १५ बुँदे मागमध्ये अधिकांश नीतिगत विषय रहेको उल्लेख छ।

ती मागहरू वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समावेश भइरहेका मन्त्रालयले जनाएको छ।

वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन ऐन तथा नियमावली संशोधनको प्रक्रिया यथाशीघ्र टुंग्याउन मन्त्रालय र संघले अधिकतम प्रयास गर्ने सहमति भएको पत्रमा उल्लेख छ। व्यवसायीहरूले आफ्ना मागसँग सम्बन्धित प्रमाण तथा कागजातसहित वैदेशिक रोजगार विभागमा विषयवस्तु पेस गर्न सक्ने र आवश्यक प्रशासनिक सहजीकरण विभागले गर्ने पनि मन्त्रालयले जनाएको छ।

विभागबाट समाधान नभएमा पुनः मन्त्रालयमा निवेदन दिन सकिने व्यवस्था रहेको मन्त्रालयको भनाइ छ।

यता, नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारबाट प्राप्त सकारात्मक प्रतिबद्धतालाई ध्यानमा राख्दै हाल सञ्चालनमा रहेका सम्पूर्ण संघर्षका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको जनाएको छ।

संघका महासचिव हिरा बहादुर डाँगीका अनुसार सबै व्यवसायी संस्थाहरूलाई आफ्ना मुख्य तथा शाखा कार्यालय नियमित रूपमा सञ्चालन गर्न र वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण काम–कारोबार तथा श्रमिकहरूको उडानसमेत नियमित गर्न आग्रह गरिएको छ।

सरकारले आगामी दुई महिनाभित्र विभागीय सुधार तथा नीतिगत निर्णय अघि बढाउने प्रतिबद्धता जनाएको संघले उल्लेख गरेको छ।

त्यस अवधिमा भएका प्रगतिको निरन्तर निगरानी, समन्वय र समीक्षा गर्ने पनि सहमति भएको छ।

तोकिएको समयभित्र प्रतिबद्धताअनुसार ठोस उपलब्धि हासिल नभए व्यवसायीहरूको वृहत् छलफल तथा प्राप्त म्यान्डेटअनुसार आवश्यक थप संघर्षका कार्यक्रम अघि बढाउने अधिकार संघले सुरक्षित राखेको छ।

संघले आफ्ना माग र सरकारसँग भएका संवाद तथा प्रतिबद्धतालाई कार्यान्वयन गर्न आवश्यक पहल भइरहेको भन्दै व्यवसायीहरूलाई एकता, अनुशासन र सहकार्य कायम राख्न आग्रह गरेको छ।

यससँगै केही दिनदेखि जारी म्यानपावर व्यवसायीहरूको आन्दोलन तत्कालका लागि रोकिएको छ भने म्यानपावर कार्यालय तथा सेवा नियमित रूपमा सञ्चालन हुने भएको छ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्