मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन

Author Nishkarsha News
२०८३ भाद्र १, सोमबार १२:३८

झापा/ विराटनगरस्थित जिल्ला कारागारका कैदीबन्दीले नाराबाजीसहित प्रदर्शन गरेका छन्।् ।
जिल्ला कारागार मोरङको ‘बी ब्लक’ मा सोमबार बिहान कैदीबन्दीहरूले नाराबाजी र प्रदर्शनसहित
कारागारभित्र हुँदै आएको आर्थिक तथा मानसिक शोषण बन्द हुनुपर्ने लगायतका माग राख्दै कारागारको पूर्वी भागको छतमा चढेर प्रदर्शनमा उत्रिएका हुन् ।
आन्दोलनका क्रममा कैदीबन्दीले छतमा लगेर टायर बाल्नुका साथै केही तोडफोडसमेत गरेको प्रहरीले जनाएको छ । मुढा बनाउन कारागारभित्रै राखिएका टायर प्रयोग गरेर उनीहरूले आगजनीको प्रयास गरेपछि आगो निभाउन दमकल प्रयोग गरिएको छ ।
कारागारभित्र लागूऔषध लगायतका अवैध वस्तु लुकाएर राखिएको विशेष सूचनाका आधारमा सोमबार बिहानैदेखि मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थितिमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरी खानतलासी सुरु गरिएको थियो ।
जिल्ला प्रहरी प्रमुख एसपी कटुवालले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर बेला–बेलामा गरिने नियमित सर्च अप्रेशनकै क्रममा उनीहरू आन्दोलित भएका बताए ।

खानतलासीका क्रममा गम्भीर प्रकृतिका अवैध वस्तु फेला नपरे पनि प्रशासनले केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी गरेको थियो । तर, कैदीबन्दीको तीव्र अवरोध, आन्दोलन र स्थिति जटिल बन्ने जोखिमका कारण स्थानान्तरण प्रक्रिया तत्कालका लागि स्थगित गरिएको प्रहरीले जनाएको छ ।
झापामा के छ ?
दुई बर्ष अघि झापामा कारागार प्रशासनले भाइ चौकीदार मनोज लावतीलाई सुनसरीस्थित झुम्का कारागार सरूवा गर्न लाग्दा उनका पक्षका कैदीबन्दीहरू आन्दोलित बन्दै आगजनी र ढुंगामुढामा उत्रिएका थिए । भाई चौकीदारका रुपमा रहेका लावतीले कारागारमा बसेर बाहिर चलखेल गर्ने गरेका बताइएको छ । त्यस ताका उनलाई सरूवा नगर्ने सहमति भएपछि आन्दोलन शान्त बनेको थियोे ।
कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका लावतीको बिषयमा पछिल्लो समय झापामा खैलाबैला मच्चिने गरेको छ । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाइएका झापाको झिलझिलेका मनोजले करीब ९ वर्षभन्दा बढी कैद सजाय कटाइसकेका छन् ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्