साहित्यीक पत्रकार संघद्धारा पाँच जना सर्जकहरुलाई सापस विशिष्ट सम्मान

Author Nishkarsha News
२०८३ श्रावण ३१, आईतवार २१:०९

काठमाडौं/  साहित्यिक पत्रकार संघले पाँचजना सर्जकहरूलाई सापस विशिष्ट सर्जक सम्मानद्वारा अभिनन्दन गरेको छ ।
अभिनन्दित हुनेहरूमा संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ, चित्रकार प्रा. मदन चित्रकार, कवि ज्ञान उदास र कलाकारद्वय चैत्यदेवी सिंह तथा सन्तोष पन्त छन् ।

शनिबार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति के. के. कर्माचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।
अभिनन्दित व्यक्तित्वहरुलाई सभाका सभापति राधेश्याम लेकाली तथा प्रमुख आमन्त्रित व्यक्तित्व के.के. कर्माचार्यले दोसल्ला ओढाएर ढाका टोपी र फूलको माला लगाइदिएर अभिनन्दनपत्र समर्पण गरेका थिए । सो अवसरमा व्यथित काव्य डायस्पोरा सम्मान २०८२ दीपा राई पुन (अमेरिका)लाई समर्पण गरिएको थियोे ।

संघका अध्यक्ष लेकालीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यमाथि संक्षेपमा प्रकाश पारेका थिए । वि.सं. २०२९ सालमा स्थापित साहित्यिक पत्रकार संघ विभिन्न जङ्घारहरू तर्दै आएको बताए । संस्थापक अध्यक्ष भवानी घिमिरेको स्मरण गर्दै उनले २०३८ सालदेखि कथा दिवस मनाउँदै आएको, २०६४ सालसम्म गाईजात्रा कार्यक्रमको आयोजना गरेको, हालसम्म धेरैजना स्रष्टाहरूको सम्मान, अभिनन्दन गरेको र हाल स्रष्टाहरूका कृतिहरूलाई अडियोमा ल्याउन थालेको बताए । समालोचक प्रमोद प्रधानद्वारा अभिनन्दित व्यक्तित्वहरूको संक्षिप्त परिचय दिइएको थियो ।

रेडियो नाटक, स्टेज प्रोग्राम, सिरियलमा छुट्टै पहिचान बोकेका पन्तले प्रतिस्पर्धाको युगमा आफूलाई अरुभन्दा अलग रूपमा प्रस्तुत गर्न सफल रहेको बताइयो ।
अभिनन्दित व्यक्तित्वहरूले पनि मन्तव्य राखेका थिए । नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, कलाकार मदनदास श्रेष्ठ तथा इतिहासविद् प्रा.डा. सुरेन्द्र केसीले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा किरण खरेलको शब्द, चन्द्रराज शर्मा, शिवशंकरको सङ्गीत रहेको तारादेवीले गाएको गीत ‘आँखाहरूले रून नखोजे, ओठहरूले हाँस्न नखोजे जीवन कति सुन्दर हुन्थ्यो होला’ बोलको गीतलाई गायिका सरिता शाहीले मीठो लय र स्वरमा गाएर सुनाएकी थिइन्।  अनामनगरस्थित डालो रेष्टुरेन्टमा भएको कार्यक्रममा संघकी कोषाध्यक्ष पद्मावती सिंहले धन्यवाद ज्ञापन गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण साहित्यकार सविता श्रेष्ठ ‘बेहोसी’ले गरेकी थिइन्।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्